राजनीतिक प्रणाली परिवर्तन गर्ने नेतृत्व र आर्थिक विकास

एनपी रिजाल

०७ सालमा प्रजातन्त्र स्थापना गर्दा राणा शासकविरुद्ध लडेको पुस्ताबाट पञ्चायती व्यवस्थाका विरुद्ध लडेको र राजतन्त्रविरुद्ध लडेको पुस्तामा पार्टी र सरकारको नेतृत्व गर्ने चाबी आइसकेको छ । वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भनी विगत एक दशकको दौरानमा स्थापना भएका राजनीतिक दलमा कुनै पेसा या व्यवसायबाट उदाएका वा ठूलो राजनीतिक धारमा आवद्ध नभएको पुस्तामा राजनीतिक सिद्धान्तको अभाव छ भने आर्थिक विकासको कुनै स्पष्ट मोडालिटी छैन ।

नेपालको शासन प्रणालीको बागडोर राजतन्त्रको पञ्जाबाट जननिर्वाचित शासकको नेतृत्वमा पुगेको डेड दशक पूरा भइसक्यो । त्यसबिचमा गणतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको निर्वाचन दुईपटक भयो । नयाँ संविधान निर्माणपश्चात नेपालको पहिलो प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पनि सकिएको छ र दोस्रो कार्यकालको निर्वाचनको तयारी हुँदै छ ।

निर्वाचनको पूर्वसन्ध्यामा सबै राजनीतिक दलहरू पार्टीको निर्वाचन घोषणापत्र निर्माण कार्यमा जुटेका छन् । उक्त घोषणापत्रमा सम्पन्न नेपालको मोडालिटी पनि समावेश हुनेछ । राजतन्त्रको शासन कालमा देशको आर्थिक विकास हुन नसकेको कारण अब गणतन्त्र आएपछि समृद्ध नेपालको लक्ष्यले गति लिन्छ भन्ने जनअपेक्षामा तुँवालो लागेपछि जनताले मात्र होइन राजनीतिक दलको नेतृत्वकर्ताले पनि वैकल्पिक शक्तिको खोजी गर्न थालेका छन् । आमजनता कुनै योग्य व्यक्ति स्वतन्त्र निर्वाचन चिन्ह लिएर आए तिनलाई मतदान दिन तयार छन् । राजनीतिक दलका नेताहरू स्वतन्त्र व्यक्ति निर्वाचित भए पनि उनीहरूले आर्थिक विकास गर्न सक्दैन भन्न छोडेका छैनन् भने केही नेताहरू जनताले अब पुरानै शैलीलाई नछोड्ने र अब आर्थिक विकासलाई ध्यान दिनुपर्ने कुरा बताइरहेका छन् ।

वर्तमान नेतृत्वकर्ताबाट देशको अपेक्षित आर्थिक विकास हुन सकेन । वर्तमान सत्ताको नेतृत्वकर्ता राजनीतिक पार्टीका हुन या विपक्षी दलका नेता हुन् तिनीहरू मध्ये धेरै ०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध लडेका नेता छन् । ०७ सालमा प्रजातन्त्र स्थापना गर्दा राणा शासकविरुद्ध लडेको पुस्ताबाट पञ्चायती व्यवस्थाका विरुद्ध लडेको र राजतन्त्रविरुद्ध लडेको पुस्तामा पार्टी र सरकारको नेतृत्व गर्ने चाबी आइसकेको छ । वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भनी विगत एक दशकको दौरानमा स्थापना भएका राजनीतिक दलमा कुनै पेसा या व्यवसायबाट उदाएका वा ठूलो राजनीतिक धारमा आवद्ध नभएको पुस्तामा राजनीतिक सिद्धान्तको अभाव छ भने आर्थिक विकासको कुनै स्पष्ट मोडालिटी छैन ।

कुनै पनि देश आर्थिक समृद्धिमा पुग्नका लागि योग्य नेतृत्वकर्ताको आवश्यकता पर्छ । सरकारको नेतृत्वकर्तामा देशको भूगोल, उपलब्ध स्रोत साधनको परिचालन गर्न सक्ने क्षमता हुनु आवश्यक छ । क्षमता भएर पनि काम गर्न सक्ने स्थानमा पुग्न नसक्नु बेग्लै कुरा हो तर धेरैपटक सत्तामा पुगेर पनि काम गर्न नसक्नुलाई उक्त नेतृत्वमा आर्थिक भिजनको अभाव छ भन्न सकिन्छ । नेपाली कंग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबा पाँचपटक प्रधानमन्त्री बनेका हुन् भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि दुईपटक प्रधानमन्त्री भइसकेका नेता अझै पनि प्रधानमन्त्रीको दौडमा छन् । उनीहरूले विगतमा भएको ठूलो राजनीतिक परिवर्तनको लागि नेतृत्व गरेका हुन् । केपी शर्मा ओली झापा विद्रोहको माध्यमबाट राजनीतिक क्षेत्रमा उदाएका हुन् धेरै समय जेल जीवन बिताएका नेता हुन् । त्यस्तै २ सय ५० वर्ष लामो राजतन्त्रको अन्त्यका लागि १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व प्रचण्डले नै गरेका हुन् । त्यसपछि खुल्ला राजनीतिक मैदानमा आएपछि बारम्बार सत्ताको नजिक पुगेको भए पनि प्रचण्डको समृद्धिको सपना राजनीतिक जोडघटाउमा रुमलिएको छ ।

विश्वको इतिहास हेर्ने हो भने प्रायःजसो देशको राजनीतिक प्रणाली या सत्ता परिवर्तन गर्ने पुस्ताबाट आार्थिक विकासको सुरुआत भएको विरलै पाइन्छ । चीनमा माओत्सेतुङले आधुनिक चीनको स्वरूपको नेतृत्व गरेको भए पनि सांस्कृतिक क्रान्तिको नाममा देशलाई गरिबीको दलदलमा पु¥याएको कुरा इतिहामा साक्षी छ । सन् १९९० को दशकपछिको नेतृत्वले चीनको आजको समृद्धिको निर्मांण गरेको छ । भारत पनि सन् १९४७ मा ब्रिटिस शासकको हातबाट स्वतन्त्र भएको भए पनि स्वतन्त्रता संग्रामका लागि लड्ने नेतृत्व सत्तामा पुगे पनि आर्थिक विकासका योगदान दिन सकेन । बारम्बार सत्ता संरचनाको दलदलबाट गुज्रिरहेको अफगानिस्तानलाई पनि राम्रो उदाहरणको रूपमा लिन सकिन्छ । सन् २००१ मा तालिवानलाई सत्ताबाट हटाएर नयाँ नेतृत्व पाएको अफगानिस्थानमा संयुक्त राज्य अमेरिकाले खर्बौं डलर खर्च ग¥यो । अन्य देशहरूले पनि धेरै खर्च गरे । तर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास लगायतको क्षेत्रमा प्रगति गर्न सकेको छैन । पुनः तालिवानको आवागमन पछि आर्थिक विकासको मोडालिटी कस्तो हुने हो टुंगो छैन । त्यस्तै सिंगापुरको विकासको गति हेरौँ । ब्रिटिसको उपनिवेश र मलेसियाका एउटा प्रान्त भएको सिंगापुरको आर्थिक विकासमा स्वतन्त्रता संग्राम लडेको नभई दोस्रो पुस्ताको योगदान उच्च छ । पानीको अभाव भएको सिंगापुरलाई विश्वको एक सम्पन्न मुलुकको दाँजोमा पु¥याउन स्वतन्त्राका लागि लडेको पुस्ताभन्दा दोस्रो पुस्ताले ठूलो भूमिका खेलेको छ ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि लडेको नेतृत्वकर्ता सत्तामा पुगेपछि त्यस देशको आर्थिक विकास भएको उदाहरण बिरलै होलान् । राजनीतिक प्रणाली परिवर्तन गर्न महत्वपूर्ण योगदान गरेको नेतृत्वमा पुरानो प्रणालीको जग कसरी हल्लाउने ? राजनीतिक प्रणाली परिवर्तनका लागि विद्रोही जनाधारको निर्माण गर्न कसरी गर्ने ? पुरानो पद्धतीका विरुद्ध शान्तिपूर्ण वा सशस्त्र क्रान्तिको वीजारोपण गर्ने रणनीति निर्माणमा समय खर्चेको हुन्छ । पुरानो राजनीतिक प्रणालीभित्रको आर्थिक, राजनीतिक, सामाजिक संरचनाको बनोटलाई चिर्न फुटाउने, टुटाउने रणनीतिक निर्माणमा सिंगो जीवन समर्पण गरेको हुन्छ । राजनीतिक परिवर्तनमा योगदान गरेको पुस्ता नयाँ राजनीतिक संरचनालाई स्थायित्व दिन पनि योगदान दिनुपर्छ । पुरानो संरचना गुमाउँदा सत्ता र शक्ती गुमाउँदा दुःखी भएका समूहलाई पनि समेट्दै जानुपर्ने हुन्छ । अर्कोतिर सत्ता नेतृत्वको अनुभव पनि नभएको व्यक्तिको सत्ता पुग्ने कारण केही समय स्रोत साधन कहाँबाट ल्याउने ? कस्तो क्षेत्रमा लगानी गर्ने ? देशको आर्थिक विकासको मोडालिटी कुन आधारको तयार गर्ने जस्ता विषयमा रुमलिने गर्छ । त्यसमा पनि अस्तिर सरकारको अभ्यास भएको अवस्थामा त समृद्ध देशको मोडालिटी आउने सम्भावना नै हुन्न ।


मंसिर ४ गते देशमा संघ र प्रदेश प्रतिनिधिहरूको चुनाव हुँदै छ । पञ्चायती व्यवस्थामा नै सत्ताको अनुभव लिएका, पञ्चायती व्यवस्था विरुद्धको अभियानमा जेल बसेका र नेतृत्व गरेका मात्र होइन गणतन्त्र स्थापना गर्न जंगल पसेका नेताहरूको संघीय गणतन्त्र नेपालको निर्माणमा गरेको योगदानलाई सम्मान छ । देशमा राजनीतिक प्रणाली परिवर्तनमा उनीहरूको योगदान इतिहासको पानामा रहने छ । ती नेतृत्वकर्ताले उत्पादनशील समय देशमा प्रजातन्त्र पुनःस्थापना गर्न र गणतान्त्रिक नेपालको निर्माणमा गरेको योगदानलाई सम्मान गर्दै अब समृद्ध नेपाल निर्माणको पाटोलाई अगाडि बढाउनका लागि योग्य दोस्रो पुस्तालाई सत्ताको नेतृत्व सुम्पनु आवश्यक छ ।

प्रतिक्रिया