काठमाडौं । ‘आमा तिम्ले लगाएको चुरा फुट्दाखेरी, बुढेसकालमा एक्लै छोडी बाबा छुट्दाखेरी छिनछिनमै रुन्छेउ होला, आँशुले मुख धुन्छेउ होला परदेशी यो छोरो सम्झेर आमा, परदेशी यो छोरो सम्झेर ।’
‘आँशु त्यसै झर्छ होला मुटु पनि जल्छ होला, बुढेसकालमा भारी बोक्दा खुट्टा साह्रै गल्छ होला, पराइले गाउँघरमा कुरा काट्दाखेरी, चाँडै फर्की आउँछु भनि मैले ढाँट्दाखेरी, छिनिछिनमै रुन्छेउ होला, आँशुले मुख धुन्छेउ होला परदेशी यो छोरो सम्झेर आमा, आमा परदेशी यो छोरो सम्झेर ।’
यो गीतको शब्द सुन्दा प्रायः मानीसको मन आफूलाई जन्मदिने आमाप्रति आकर्षण र भावुक पक्कै पनि बनाउँछ । यो गीत हो लामो समयदेखि यस्तै दुःख र बेदनाका गीत पस्कँदै आएका गायक विरही कार्कीको । जुन गीत माथि उल्लेख गरिएका शब्दको भावअनुसार ‘आमा भाग १’ एल्बमको ।
उक्त गीतमा गायक कार्कीको एकल आवाजमा रहेको छ । यस्ता धेरै मर्मस्पर्शी तथा दुःखका गीत बजारमा ल्याउँदै आएका गायक कार्कीले बिचबीचमा केही रमाइला गीत नल्याएका पनि होइनन् । उनै गायक विरहीले पछिल्लो समय रमाइलो तथा माया प्रेमका गीत ल्याएका छन् ।
गायिका अञ्जु पन्तसँग सहकार्य गर्दै गायक कार्कीले पन्त र आफ्नो आवाजमा ‘मायाको ढोका खोलीदेउ’ बोलको गीत उनले बजारमा ल्याएका छन् । उक्त गीत शुक्रबार राजधानीमा सार्वजनिक गरिएको हो ।
वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केही वर्षदेखि सवपरिवार अमेरिका बस्दै आएका कार्कीले नेपाल आएको समयमा गीत सार्वजनिक गरिएको बताए ।
उक्त गीत सार्वजनिक गर्दै प्रमुख अतिथि रायमाझीले गीतको शब्द र भिडियो दुवै उत्कृष्ट रहेको प्रतिक्रिया दिँदै गायक कार्की अमेरिका बसे पनि उनले आफ्नो देशको मौलिक लोक सांस्कृतिलाई जिवन्त राख्नमा भूमिका खेलेको बताए ।
साथै, गीत सार्वजनिक कार्यक्रममा सहभागी धेरै वक्ताहरुले गीत माया प्रेमको शैलिमा भए पनि देशको पहिचान बोकेको बताए । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा शब्द र संगीत गायक कार्कीकै रहेको छ ।
गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले अभिनय गरेका छन् भने निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन् । करण चैसिरले खिचेको भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ ।
म्युजिक खबरले आयोजना गरेको गीत लोकार्पण कार्यक्रममा गीत संगीतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै केही पत्रकार सञ्चारकर्मीहरु र गीतका सर्जकहरुलाई सम्मान गरिएको थियो । साथै, उपस्थित कलाकारहरुलाई मायाको चिनो प्रदानसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गायक कार्कीले आफू जहाँ गए पनि नेपाली गीत संगीतलाई कहिल्यै भुल्न नसक्ने बताए । साथै, उनले आफू अमेरिकामा कर्मको लागि गएको बताए ।
उनले अमेरिकामा भासिएको भन्ने शब्दप्रति आपत्ति जनाउँदै भने, ‘अमेरिका जानेहरुलाई भासिएको भन्ने गरिन्छ, त्यो शब्द मलाई नराम्रो लाग्छ, म आफ्नो कर्म गर्न मेरो बालबच्चाको भविष्य सुधार्न गएको हुँ ।’ साथै, उनले आफ्नो गीतको शिर्षकलाई लिएर प्रकाश पारे ।
‘मायाको ढोका खोलिदेउ, मुसुक्क हाँसिदेउ मिठो बोलिदेउ, गीतमा मुसुक्क हाँस्ने र मिठो बोल्ने कुरा गरिएको छ’, उनले भने । गायक कार्कीले सधैँ दुःखमा मात्रै रहन नसक्ने बताए । पहिले पहिले दुःखका धेरै गीत ल्याए पनि बिचबीचमा रमाइला गीत ल्याएको बताए ।
उनले विशेषतः आफ्नी स्वर्गीय आमा फूलमाया कार्कीको सम्झनामा ‘आमा’ नाम गरेको गीत भाग–५ सम्म ल्याएको जानकारी दिए । गोरखामा जिन्मिएका गायक कार्की सानैदेखि दुःख र बेदनाका गीत गुनगुनाउँदै पाखा पखेरामा घाँसदाउरा र मेलापात गर्दै हिँडेको स्मरण गरे ।
प्रतिक्रिया