कर्णालीमा माओवादीबाट शाह र कामी मन्त्रीमा सिफारिश

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिश गरेको छ । माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सिफारिश गरेको हो । शाहलाई योजना मन्त्री र कामीलाई ऊर्जा विकास मन्त्रीका लागि सिफारिश गरिएको माओवादीले जनाएको छ ।

यसका लागि माओवादीले आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको जानकारी दिंदै माओवादी संसदीय दल अध्यक्ष विमला केसीले बहालवाला मन्त्रीद्वय सक्षम हुँदाहुँदै पनि मन्त्रिपरिषद् समावेशी बनाउने उद्देश्यले शाह र कामीलाई मन्त्रीमा सिफारिश गरिएको बताइन् ।

शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । यसअघि कर्णाली प्रदेश सरकार समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको थियो । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतले समावेशी बनाउन आदेश दिएको थियो ।

प्रतिक्रिया