काखैको बच्चा छाडेर महिना दिनदेखि महिला बेपत्ता

पर्वत । जिल्लाको जलजला गाउँपालिकमा काखे बच्चा छाडेर एक महिला बेपत्ता भएकी छन् । सो गाउँपालिकाको वडा–५ लेखफाँटकी एक २० वर्षीया महिला महिना दिनदेखि बेपत्ता भएकी हुन् । दुई वर्षकी छोरी घरमा नै छाडेर साउन ६ गतेदेखि सुजता खड्का जिसी सम्पर्कविहीन बनेकी हुन् ।
सोही गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर हालसम्म सम्पर्कमा नआएको परिवारले गुनासो गरेका छन् । प्रहरीले खोजी कार्य गर्दा हालसम्म महिला सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

बेपत्ता भएको महिलाको आफन्त, इष्टमित्रसमक्ष सम्पर्क र आन्तरिक खोजतलास गरे पनि नभेटिएपछि बेपत्ता महिलाका श्रीमान् मदन जिसीले साउन ११ गते प्रहरी चौकी लेखफाँटमा खोजतलासका लागि उजुरी दिएका थिए । महिलाको खोजतलासका लागि जिल्ला भित्रका सवै प्रहरी युनिट र परिवारले दिएको जानकारीका आधारमा शंका लागेका अन्य स्थानहरूमा समेत खोजिकार्य भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।

उनले प्रयोग गर्दै आइरहेको मोबाइल फोन र सम्पर्कमा आएका व्यक्तिहरू पहिचान गरी खोधखोज गर्दा पनि प्रहरीले उनको अवस्थाबारे पत्ता लगाउन सकेको छैन । बेपत्ता महिलाको घर तथा माइती पक्षबाट समेत खोजी कार्य भइरहेको र खोजी कार्यका लागि सहयोग गरिदिन अन्य निकायहरू समक्षसमेत अनुरोध गरिएको माइती पक्षका स्थानीयवासी अनिता रेग्मीले बताइन् ।

प्रतिक्रिया