नेपाली चियामाथि भारतको कुदृष्टि : ‘गुणस्तरहीन’ भन्दै, बजार खोस्दै

‘चीन उपयुक्त बजार’

भारतीय पक्षले नेपाली बस्तुको निर्यातमा जहिले पनि अनावश्यक बहाना भिकेर अवरोध सिर्जना गर्दै आएको छ । चाहे त्यो अदुवा र अलैँची निर्यातको विषय होस् वा पछिल्लो समय बहसमा आएको चिया निर्यातको विषय । नेपाल–भारत वाणिज्य व्यापार सन्धीविपरीत भारतले विभिन्न ‘बहाना र आरोप’ मा नेपाली बस्तुको निर्यातमा ‘झमेला’ गर्दै आएको छ । यो विषय नयाँ होइन । जबजब नेपाली बस्तुको बजार बिस्तार हुन्छ, त्यतिबेला भारतीय पक्ष बहाना झिकेर नेपाली बस्तुलाई ‘गुणस्तरहीन’ को आरोप लगाउँदै बजार खोस्न उद्यत हुन्छ ।


नेपाली चियाको निर्यातमा भारतले कसरी कुदृष्टि लगाएर अवरोध सिर्जना गर्दै आएको छ भन्ने विषयमा तीन वटा घटना उल्लेख गरिएका छन् । ती प्रतिनिधिमुलक घटना मात्र हुन् । भारतले बर्सेनि कुनै न कुनै बहाना झिकेर समस्या निम्त्याउने गरेको यस्ता घटना सयौंको संख्यामा छन् ।


पछिल्लो समय भारतले फेरि नयाँ बहाना झिकेर चियाको बजारलाई धुमिल्याउने खेल सुरु गरेको छ । अहिले भारतीय पक्षले नीतिगत रूपमै ‘गुणस्तरहीन’ को संज्ञा दिएर कानुनी बाटोमार्फत नेपाली चियाको भारतीय बजारका साथै अन्तर्राष्ट्रिय बजार खोस्ने तयारी गरिरहेको छ । यसका लागि उनीहरूले नेपाली चिया गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।


पश्चिम बंगालकी सांसद शान्ता क्षेत्रीसहित दार्जिलिङका केही चिया बगानका सञ्चालकहरूको मिलोमतोमा भारतीय पक्षले नेपाली बजार हत्याउन यस्तो आरोप लगाइएको हो । क्षेत्रीको नेतृत्वमा भारतको राज्यसभा र लोकसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले नेपाली चिया गुणस्तरहीन रहेको आरोप लगाएका छन् । उनीहरूले एन्टी डम्पिङ ऐन प्रयोग गरेर नेपाली चियाको भारत निर्यातमा कम्तिमा ४० देखि सतप्रतिशतसम्म भन्सार लगाउन भारतीय सरकारसँग मागसमेत गरेका छन् ।


भारतमा नेपालबाट वार्षिक रूपमा ९० प्रतिशत अर्थोडक्स र करिब ५० प्रतिशत सिटिसी चिया निर्यात हुँदै आएको छ । नेपालबाट वार्षिक रूपमा साढे चार अर्बदेखि पाँच अर्ब रुपैयाँसम्मको चिया भारत निर्यात हुने गरेको छ । नेपालबाट प्रतिवर्ष १ करोड ७४ लाख किलो चिया भारत निर्यात हुन्छ । नेपालमा वार्षिक रूपमा सिटिसी चिया करिब दुई करोड किलो र अर्थोडक्स करिब ७० हजार किलो उत्पादन हुन्छ ।


भारत पश्चिम बंगालका सांसद, चिया बगानका सञ्चालक, दार्जिलिङ टी एसोसिएसन, टी फोरम अफ इन्डिया र टी बोर्ड अफ इन्डियाको मागका आधारमा राज्यसभा र लोकसभामा प्रतिनिधित्व गर्ने ३० जना सांसदहरूको समितिले विधेयक नै बनाएर नेपालको चिया रोक्ने प्रस्ताव गरिसकेका छन् ।


सांसद बी. विजयसाई रेड्डी संयोजक रहेको समितिले उक्त विद्येयक गत असार १ गते भारतको लोकसभा र राज्यसभामा समेत बुझाइसकेका छन् । स्रोतका अनुसार भारतीय चियाको बोट करिब दुई सय वर्ष पुरानो भएकाले उक्त बोटबाट उत्पादित चिया तुलनात्मक रूपमा गुणस्तरीय छैनन् ।


नेपाली चियाको बोट भने ६० देखि ६५ वर्ष पुरानो भएकाले उत्पादन भएको चिया निकै गुणस्तरीय रहेकाले भारतसहित बिश्व बजारमा नेपाली चियाको माग अत्यधिक बढेर भारतीय चियाको बजार गुम्दै गएको छ । यो विषय भारतीय पक्षलाई ‘अपाच्य’ भएर नेपाली चियालाई बदनाम गरी आफ्नो बजार सुरक्षित गर्न चाहेको छ ।


उक्त समितिले नेपाली चिया अत्यन्त सस्तो र गुणस्तरसमेत कमसल रहेको आरोप लगाउँदै त्यसलाई रोक्न विभिन्न प्रकारको नीतिगत र कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने निष्कर्षसहितको विधेयक तयार पारेको छ । विधेयकमा नेपाली चियामाथि ११ वटा आरोप लगाइएको छ । यो विधेयकले कानुनी मान्यता पाएमा विश्व बजारमै नेपाली चियाको भविष्य अन्धकारमा पर्ने विज्ञहरू बताउँछन् ।


हिमालयन अर्थोडक्स टि प्रोडयुसर्स एसोसिएसन (होट्पा) का उपाध्यक्ष उदय चापागार्इंका अनुसार नेपाली चियाको भारतीय बजार खोस्न यसप्रकारको रणनीति तयार गरी अघि बढाइएको हो । उनले सन् १९५० मा भएको नेपाल–भारत सन्धीसमेत समीक्षा गर्नुपर्ने पनि औँल्याएको छन् ।


उनका अनुसार केही भारतीय आयातकर्ता र व्यवसायीले नेपाली चियालाई दार्जिलिङ र असमको चिया भनेर ब्रान्डिङ गरी युरोप, अमेरिका, जापान, जर्मनीजस्ता मुलुकमा बजारीकरण गरेपछि भारतीय चियालाई धक्का लागेको हो । पछिल्लो समयमा नेपालमा उत्पादन भएको चियाको माग ती मुलुकहरूमा बढ्दै जानु र भारतीय चियाको माग घट्दै जानुले पनि भारत नेपाली चियाप्रति आक्रामक बन्दै गएको हो ।


लोकसभा र राज्यसभामा प्रस्ताव भएको विधेयक नेपाल–भारतबीच सन् १९५० मा भएको वाणिज्य सन्धिविपरीत रहेको चापागार्इंले जानकारी दिएका छन् । उनका अनुसार लोकसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले पनि उक्त सन्धि नै पुनरावलोकन गर्नुपर्ने दुवै सभाका अध्यक्ष र सभामुखलाई सुझाव पेस गरेको छ ।


नेपालमा उत्पादन हुने चियामध्ये झण्डै ९० प्रतिशत शतप्रतिशत भन्सार छुटमा भारतमा निर्यात हुँदै आएको छ । भारतबाट नेपालमा भित्रिने चियामा भने नेपाल सरकारले ४० प्रतिशत भन्सार शुल्क लगाएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रावधान अनुसार नेपालले भारतीय चियाको आयातमा लगाएको भन्सार शुल्कजस्तै भारतले पनि नेपाली चियाको निर्यातमा भन्सार शुल्क लगाउन छुट छ ।


‘भारतले नेपाली चियाको भारतीय बजार खोस्न डब्लुटिओ र एन्टी डम्पिङले गरेको व्यवस्थाअनुसार नीतिगत व्यवस्था गर्न लागेको हो’, स्रोतले भन्यो, ‘ती दुवै अधिकार प्रयोग गर्न भारत स्वतन्त्र छ । हामीले पनि भारतको चियाको आयातमा भन्सार शुल्क लगाएजस्तै उसले पनि लगाउन पाउँछ । तर, नेपाली चियाको गुणस्तर कमसल छ भनेर बदनाम गर्न भने पाउँदैन् ।’
भारतले नेपालको चिया सस्तो र गुणस्तरहीन भएको आरोप लगाउँदै त्यसले विश्व बजारमा दार्जिलिङको चियालाई प्रभाव परेको दाबी गरेको छ । भारतमा आयात हुने चियामध्ये झण्डै ५० प्रतिशत नेपाली चियाको योगदान रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । नेपालमा उत्पादन भएको चियामध्ये ९० प्रतिशत भारतीय बजारमा पुग्दा दार्जिलिङको चियाको बजारमा प्रभाव पारिरहेको भारतीय पक्षको ठहर छ ।


चापागाईंका अनुसार भारतीय पक्षले नेपालबाट भारतमा निर्यात भएको चियालाई त्यहाँका व्यवसायीहरूले दार्जिलिङ, असमलगायत विभिन्न ब्रान्डमा ब्रान्डिङ गरी विश्व बजारमा बजारीकरण गर्दा भारतको चिया बजार गुमेको आरोप लगाएका छन् ।
नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिको संशोधित व्यवस्थाअनुसार ‘आधारभूत भन्सार शुल्क वा परिमाणात्मक’ बन्देज लगाउन सकिने दुई मुलुकबीच सहमति भएको छ । उक्त सहमतिअनुसार पनि नेपाली चियाको भारतीय बजार खोस्ने नीतिगत व्यवस्था गर्न उनीहरूले माग गरेका छन् । भारतीय बजारमा नेपाली चिया शतप्रतिशत भन्सार छुटमा प्रवेश पाउने तर, भारतीय चिया नेपालमा प्रवेश गर्दा ४० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था विभेदकारी भएको उनीहरूको भनाइ छ ।


भारतीय पक्षले आफ्नो सरकारसँग नेपाली चिया भारतमा प्रवेश गर्दा भन्सार विन्दुमै चियाको गुणस्तर परीक्षण र फाइटो स्यानेटरी परीक्षण गर्नुपर्ने व्यवस्थाको माग गरेको छ । उनीहरूले भारतीय ब्रान्ड प्रयोग गरी भारतको चियाको अन्तर्राष्ट्रिय बजार खोस्न नेपाली चियाको पनि भूमिका भएकाले नेपालसहित अन्य मुलुकको चियाको उत्पति प्रमाणपत्र नीति कार्यान्वयनमा ल्याउन माग पनि गरेका छन् । यो व्यवस्था थोकदेखि खुद्रा बिक्री परिमाणमा लगाउनुपर्ने उनीहरूको माग छ ।


यसबाहेक उनीहरूले नेपाली चियाको विषयमा थप अध्ययन गरी उपयुक्त नीति अख्तियार गर्न भारतीय अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयलाई आग्रहसमेत गरेका छन् । नेपाली चिया भारतमा निर्यात नभए १ सय ५० भन्दा बढी उद्योग बन्द हुनुका साथै चिया खेतीमा आश्रित २६ हजार किसान आयविहीन हुने र ८० हजार मजदुर बेरोजगार हुने भन्दै नेपाली चिया प्रशोधनकर्ता र चिया उत्पादक अहिले चिन्तामा डुबेका छन् ।


विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहीन चियाको संज्ञा दिएर विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेस गरेको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका हुन् । नेपाली किसान तथा व्यवसायीहरूले पछिल्लो समयमा भारतीय कदमको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकासमन्त्री, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

‘चीन उपयुक्त बजार’

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादन भएको चियाको लागि चीन उपयुक्त बजार हुनसक्ने तथ्य आँैल्याएका छन् । खनालले चीनमा चिया निर्यात गर्न सकिए भारतभन्दा तेब्बर फाइदा हुने बताएका छन् ।


संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले चीनमा बजार पाउनसके नेपाली चियाका लागि नयाँ युग सुरु हुने धारणा व्यक्त गरेका छन् । ‘भारतीय बजारमार्फत चिया निर्यात गर्दा चार अर्ब रुपैयाँको व्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकिए त्यसको दुई वा तीन गुणा बढी फाइदा हुनसक्छ । यसले नेपाली चिया उतपादनको क्षेत्रमा नयाँ युगको सुरुआत हुनसक्छ,’ खनालले भनेका छन् ।


चीनमा नेपाली चियाको बजारका लागि आपूmले व्यक्तिगत रूपमा प्रयास गरिरहेको पनि उनले बताए । परराष्ट्रमन्त्री डा. नारायण खड्काको हालै सम्पन्न चीन भ्रमणका क्रममा पनि यस विषयमा सम्बन्धित पक्षसँग कुराकानी भएको उनले बताए । भारतले नेपाली चियाको बजार खोस्न लागेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले नेपालको अर्थतन्त्रलाई धरासायी बनाउन भारत लागेको आरोप पनि लगाए ।


तर, विज्ञहरू भने चीनमा चिया निर्यातको विषय हौवा मात्र भएको दाबी गर्छन् । नेपालमा झण्डै ८५ प्रतिशत सिटिसी र १५ प्रतिशत अर्थोडक्स चिया उत्पादन हुन्छ । चिनियाँले सिटिसी चिया पिउँदैनन् । उनीहरू अर्थोडक्स चिया मात्र पिउने गर्छन् ।
‘नेपालमा अर्थोडक्स चियाको उत्पादन नै निकै कम भएको अवस्थामा चीनमा कसरी अर्थोडक्स चिया निर्यात गर्न सम्भव छ,’ नेपालबाट विभिन्न मुलुकमा चिया निर्यात गर्दै आएका एक निर्यातकर्ताले भने, ‘फेरि पेस्टिसाइट र फायटो स्यानेटरी लगायतका विषयमा चीन सबैभन्दा कडा मुलुक मानिएकाले नेपाली चिया चीनमा निर्यात गर्र्छाैं भन्ने विषय हल्ला मात्रै हो ।’

प्रतिक्रिया