कर्मचारी चार कार्यक्षेत्र पाँच जिल्ला !

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य÷दाना बजार तथा उद्योग अनुगमन, नमुना संकलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ । व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी संख्या भने जम्मा चार जना मात्रै छ । कार्यालयका एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी कम हुँदा बजार अनुगमनलगायतका काममा समस्या हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले जानकारी दिए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए । ‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ’, पोखरेलले भने, ‘भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमुना संकलन, मुद्दाको अनुसन्धानको काम भइरहेको छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृंखलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । ०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।
कार्यालयले आर्थिक वर्ष ०७८÷७९ को अवधिमा १ सय ७७ खाद्य ऐन बमोजिमका नमुना, ५९ वटा सर्भिलेन्सका लागि खाद्य नमुना र दाना ऐनबमोजिमका १३ वटा दाना पदार्थको नमुना संकलन गरेको थियो ।

कार्यालयले सोही अवधिमा १ सय २० वटा खाद्य उद्योगको निरीक्षण, २८ पटक अन्य निकायसँग संयुक्तरूपमा बजार अनुगमन, पाँच पटक हाटबजार मेला अनुगमन गरेको पोख्रेलले जानकारी दिए । त्यस्तै १ सय ९० भन्दाबढी खाद्य पलस र १ सय १९ वटा विभिन्नस्तरका होटल, रेस्टुराँ, मिठाइ पसल, भोजनालय निरीक्षण गरिएको छ । अनुगमनका क्रममा २४ पसलमा देखिएका ४३ हजार पर्ने म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो । चारपटक चार ठाउँमा खाद्य उद्योगीसँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गरिएको कार्यालयले जनाएको छ । दुईपटक स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी अन्तक्र्रिया र दुईपटक सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यालयले सोही अवधिमा अनुज्ञापत्र जारी÷नवीकरण र विश्लेषण शुल्कबापत १ लाख ५४ हजार ९ सय राजस्व संकलन गरेको छ । खाद्य मुद्दा सम्बन्धमा सात वटा मुद्दा दायर भएकामा चार वटा मुद्दाको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्बन्धित निकायमा सक्कल मिसिल पठाइएको पोख्रेलले बताए । त्यस्तै १ सय ७७ खाद्य नमुनामध्ये १६ वटा नमुना खाद्य ऐनको प्रतिकूल रहेको पाइएको छ भने १३ मध्ये दुई दाना पदार्थको नमुना ऐनविपरीत रहेको पाइएको छ ।

कार्यालयले उक्त अवधिमा दूध तथा दूध पदार्थका ६, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नुनका दुई, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमुना संकलन गरेको थियो । कार्यालयले चाडपर्वका बेला मात्र नभई अन्य समयमा पनि नियमितरूपमा बजार अनुगमन गर्दै आएको पोख्रेलले बताए । ‘अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमुना पनि संकलन गर्छौं, संकलित नमुना परीक्षणका लागि भैरहवा पठाउने गरेका हौँ’, उनले भने ।

प्रतिक्रिया