सामाजिक सूचना प्रणालीले विकृति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने : मन्त्री मोक्तान

हेटाैँडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकाले चाँडै लागू गर्नुपर्ने बताएकी छन् । मंगलबार हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले बैदेशिक रोजगारका नाममा भईरहेको वेचविखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने बताएकी हुन् ।

‘मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या भईरहेको छ,’ उनले भनिन्, ‘सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ ।’ असहाय बालबालिकाको एकीन तथ्यांक नहुँदा धेरै समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको जिकिर गरिन् । तथ्यांक संकलनमा स्थानीय तहहरूको महत्वपूर्ण भुमिका रहेको भन्दै यसकार्यमा एकद्वार प्रणाली उचित हुने बताइन् ।

कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सुचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उदेश्य, सूचकहरू, निर्माण प्रकृया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराएकी थिइन् ।

शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीको अध्यक्षतामा भएको दुई दिने कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाहरुका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपाल प्रसाद कँडेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, वीनरक ईन्टरनेशनल ‘हाम्रो सम्मान परियोजना’का रत्नकाजी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, नुवाकोटको शिवपुरी गाउँपालिकाका उपाध्यक्ष बिरबहादुर तामाङ, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, बागमती प्रदेश नीति तथा योजना आयोगका प्रमुख सुकदेव देवकोटा लगायतको आतिथ्य रहेको थियो । अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो । यसअघि लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा उद्घाटन गरिसकेको सामाजिक सूचना व्यवस्थापन प्रणालीमा तथ्यांक पहुँच र भण्डारणका लागि स्थानीय तह र प्रदेश सरकारहरुलाई संलग्न गरिने बताईएको छ । मानव बेचविखनलाई प्रमुखता दिएर तथ्यांक संकलन गरिने सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पिडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरुको पनि संकलन गरिने जनाईएको छ ।

प्रतिक्रिया