एकीकृत समाजवादीका लागि ‘विशेष मापदण्ड’

काठमाडौं । सत्ता गठबन्धनद्वारा गठित कार्यदलले सिट बाँडफाँडको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । सत्तारूढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँडबारे टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

संघ र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले ०७४ सालको निर्वाचन र ०७९ सालको स्थानीय तह निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुवै चुनावी परिणामलाई आधार मानेर सिट बाँडफाँडका लागि छलफल भइरहेको बताए । ‘०७४ सालको निर्वाचन र ०७९ सालको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्ने छलफल भइरहेको छ’, कार्कीले भने, ‘हामी कार्यदलबाटै सहमति गरेर टुंगो लगाउने प्रयासमा छौँ ।’ कार्यदलको अर्को बैठक बुधबार बस्ने बताइएको छ ।

कार्कीले सिट बाँडफाँटका लागि प्रतिबेदन अन्तिम तयारीमा पुगेको पनि बताए । ‘चाँडोभन्दा चाँडो गृहकार्य पुरा गर्ने पहल अगाडि बढाएका छौं । बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने ।

एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलो पटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशेष निर्णयमा पुग्ने भएको छ । कार्कीका अनुसार एकीकृत समाजवादीका लागि विशेष रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ ।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा हालसम्म तीन वटा मात्रै बैठक भएको छ । गठबन्धनमा कांग्रेसका तीन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता सामाजवादी र राजमोका दुई÷दुई जना सदस्य रहेका छन् । कार्यदललाई साउन मसान्तभित्र मोडालिटी निर्माण गर्न समय तोकिएको छ ।

प्रतिक्रिया