करोडमा पुग्नुपर्ने गीत ‘रोड’मा झरेपछि राधिका हमाल चिन्तित

काठमाडौं । लोकदोहोरी गायिका राधिका हमाल (पुन) ले आफ्नो गीतले युट्युबमा राम्रो भ्युज नपाएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको छेको पारेर केही दिन अगाडि आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक ‘हेरिस्योन’ बोलको गीत यसभन्दा पहिलेका आफ्नै गीतको तुलनामा यस गीतले राम्रो भ्युज नपाएकोमा गायिका हमालले चिन्ता व्यक्त गरेकी हुन् ।

करोड क्लवमा पुग्नुपर्ने गीत रोड क्लवमा अलपत्र भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । अहिलेसम्मकै ऐतिहासीक र मौलिक उक्त गीत आफूले सोचेजस्तो भ्युज नपाएकोमा गायिका हमालले गुनासो गरिन् । लोकप्रिय र सर्वाधिक रुचाइएका कलाकारहरुको उक्त गीतमा सहकार्य रहेको छ ।

गायिका हमालले सामाजिक सञ्जाल फेसबुकमा केही घुमौरो पाराले लेखेकी छन्, ‘सबैलाई नमस्कार, करोड क्लबमा पुग्छ’ भनेको गीत रोड क्लबमा अलपत्र, मेरो च्यानलले धोका दिए पनि, हजुरहरुले मलाई सधैं माया दिनुभएको छ । चोकचोकमा बजेको सुने खुशी लाओ, हजुरहरुको आशिर्वादले तिजसम्म केही अर्चकी ।’

जुन गीतमा गायिका राधिका हमाल आफैं, गायिका माण्डवी त्रिपाठी, जुनु रिजाल काफ्ले, देवी घर्ती मगर, पूर्णकला बिसी, लक्ष्मी मल्ल, वरिष्ठ गायिका कुन्ती मोक्तान, गायक रामचन्द्र काफ्ले, राजु ढकाल, श्रीकृष्ण बम मल्ल लगायतले आवाज दिएका छन् ।

सांगीतिक क्षेत्रका सफल जोडीहरुको सहकार्य रहेको उक्त गीतमा गायिका हमालकै शब्द रचना र संगीत तथा गायक पुरुषोत्तम न्यौपानेको संगीत संयोजन रहेको छ । त्यस्तै, गीतको भिडियो स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहनुका साथै सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ।

साथै, प्रकाश धमलाले सम्पादन गरेको उक्त भिडियोमा सांगीतिक जोडीहरु गायिका राधिका हमाल पुन, उनका श्रीमान् कृष्णबहादुर पुन, सफल पुन, गायिका माण्डवी त्रिपाठी, उनका श्रीमान् विपिन आचार्य, गायिका जुनु रिजाल काफ्ले, उनका श्रीमान् गायक रामचन्द्र काफ्ले, गायिका पूर्णकला बिसी, उनका श्रीमान् धन केपी, गायिका देवी घर्ती मगर, उनका श्रीमान् गायक राजु ढकाल, गायिका लक्ष्मी मल्ल, उनका श्रीमान् गायक श्रीकृष्ण बम मल्ल, वरिष्ठ गायिका कुन्ती मोक्तान, उनका श्रीमान् शिलाबहादुर मोक्तानले अभिनय गरेका छन् ।

अहिलेसम्मकै ऐतिहासिक उक्त गीतले युट्युबमा भ्युज राम्रो नपाए पनि नेपाली सांगीतिक जगत्मा सदाबहार रहने गायिका हमालले बताइन् । साथै, उनले आम दर्शक स्रोताले मन पराए पनि आफ्नै युट्युब च्यानलले धोका दिएको उल्लेख गरिन् ।

‘दर्शक स्रोताहरुले त माया गरिरहनुभएकै छ,’ हमालले भनिन्, ‘तर यसपटक मेरै युट्युब च्यानलले धोका दिएर होला, अरुले जस्तो बुस्ट गरेर भ्युज बढाउने मेरो चलन छैन, तर हेरौँ बिस्तारै राम्रो हुँदै जाला, मौलिक र ऐतिहासिक गीतले बिस्तारै गति लिन्छ भन्ने मलाई लागेको छ ।’ यो समाचार तयार पार्दासम्म उक्त ‘हेरिस्योन’ गीतलाई ७० हजारभन्दा धेरै पटक युट्युबमा हेरिएको छ ।

गीतको भिडियो लिंक तल हेर्न सकिन्छ

प्रतिक्रिया