पुरुष तथा महिला बास्केटबल : आर्मीको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ अंकले पराजित ग¥यो । आर्मीको जितमा आयुश सिंह एक्लैले ३५ अंकको योगदान गरे

नखिपोटस्थित आयोजक क्लबकै कभर्डहलमा भइरहेको उक्त प्रतियोगिताको पुरुषतर्फ नै शंकरदेव क्याम्पसले आयोजक नखिपोटको ‘बी’ टोलीलाई ६२–५५ अंकले हरायो । विजयी टोलीका लागि मनीषले ३१ स्कोर गरेका थिए ।

प्रतियोगिताको पुरुषतर्फ १२ वटा टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलातर्फ भने चार टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली पुनः उपाधिका लागि भिड्ने छन् ।

पुरुषमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा शीर्ष दुई स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई नगद पाँच हजारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । फाइनल खेल भदौ ७ गते हुने आयोजकले जनाएको छ ।

यसैबीच, पारागन राजधानीमा जारी ‘पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’को छात्रतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पारागनले आयोजक बौद्धलाई ३८–३७ अंकले पराजित ग¥यो । बौद्धका विकी यादवले १९ अंक जोडे ।

बुद्ध एकेडेमीले मेनोमिकलाई ६५–२६ र स्वर्ण शिक्षाले विन्समलाई १८–१४ अंकले हराउँदै अन्तिम आठमा स्थान बनाए । बुद्धका कोसिश भुजेलले २० र स्वर्ण शिक्षाका दीपेन्द्र सुनुवारले आठ अंक जोडे । छात्रातर्फ द चाँदबागले न्यु बुद्ध प्रकाशलाई २३–८ र भेनसले प्रारम्भलाई ८–६ अंकले पन्छ्याउँदै क्वार्टरफाइनलमा स्थान बनाए । चाँदबागकी रिज्मा भट्टराईले १२ र भेनसकी सलिना तामाङले दुई स्कोर गरे ।

यसैबीच, इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता हात पारेको छ । सिनियर छात्रमा इबीएले न्यु जेनिथलाई ३८–१३ र जुनियर छात्रमा इबीएले सेबलाई १८–८ अंकले पराजित ग¥यो ।

सिनियर छात्रको अन्य खेलमा ब्राइट होराइजनले ग्रिन लाउन्सलाई ३७–१९, ज्ञाननिकेतनले आयोजक ग्रिन फिल्ड ‘बी’ लाई ३१–१९, नेपाल सेन्टरले हेम्सलाई ४४–३६ र जेनिथले काठमाडौं जेभियरलाई ७८–४८ अंकले हराए । जुनियर छात्रको अर्को प्रतिस्पर्धामा ओरेकलले हिमालयनलाई १२–८ अंकले पन्छायो । सिनियर छात्रामा आर्याले महामन्जुश्रीलाई २०–९, संस्कृतिले ओरेकललाई २०–८ र हिमालयनले हेम्सलाई १९–१८ अंकले पाखा लगाए ।

प्रतिक्रिया