व्यवहारमा २० वर्ष नपुग्दै आमा !

नारा : ‘बिहाबारी २० वर्षपारि’

लमजुङ । जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा आर्थिक वर्ष ०७८÷७९ मा १ हजार १ सय ६६ जना महिला आमा बनेका छन् । जसमध्ये १ सय ५५ जना किशोरी छन् ।


१४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको तथ्यांकले देखाउँछ । ‘बिहाबारी २० वर्षपारि’ भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन । सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको भनाइ छ ।


उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’ जिल्ला अस्पताल लमजुङमा आर्थिक वर्ष ०७७/७८ मा १ हजार १ सय ७१ जना महिला आमा बनेका थिए । जसमध्ये १ सय ५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए ।


यसैगरी आर्थिक वर्ष ०७६÷७७ मा १ हजार १ सय २३ जना महिला आमा बनेका थिए । जसमध्ये १ सय ७१ जना महिला २० वर्षमुनिको रहेको अस्पतालले जनाएको छ । सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायत कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रसूति इन्चार्ज राममाया ठकुरी बताउँछिन् ।


ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको जिल्ला अस्पताल लमजुङको अनुमान छ । (न्युज कारखाना)

प्रतिक्रिया