अलमुताईरीबारे निर्णय गर्न महासचिवलाई जिम्मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिवलाई दिएको छ । एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको हो ।

‘मुख्य प्रशिक्षकको बारेमा कतार फुटबल संघसँग थप समन्वय गरि थप निर्णय लिन एन्फा महासचिवलाई जिम्मेवारी दिने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने । अलमुताईरी पछिल्लो समय विवादमा तानिएका छन् । गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका हुन् ।

उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ । यस्तै प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।

अलमुताईरी हाल कतारमा रहेका छन् । आगामी असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन् । एन्फाले उनको अनुपस्थितिमा प्रदिप हुमागाईलाई कार्यवाहक नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया