प्रकाशमानको अग्नि परीक्षा

अञ्जु कार्की

प्रकाशमान सिंहले भावी प्रधानमन्त्रीका लागि इच्छा राख्नु नयाँ कुरा होइन । यसअघि पनि नेता सिंह संसदीयदलको नेता पदमा उम्मेदवार बनेका थिए । संसदीयदलको नेता पदमा उम्मेदवार हुनु भनेकै प्रधानमन्त्री पदमा उम्मेदवार बन्नु हो । अघिल्लोपटक नै प्रधानमन्त्री पदको आकांक्षा राखेका प्रकाशमान सिंह नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वउपसभापतिसमेत हुन् । साथै चार कार्यकाल सांसद तथा पटकपटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका नेता हुन् प्रकाशमान । अब प्रकाशमान प्रतिनिधिसभामा जानु भनेको प्रधानमन्त्री बन्नकै लागि हो । प्रकाशमान मुलुकले चिनेका नेता मात्रै होइनन्, मुलुक चिनेका नेता पनि हुन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीपदको दावी गरेपछि मुलुकको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचन प्रदेशसभा र प्रतिनिधिसभाका लागि हो । निर्वाचन सकिनासाथ प्रदेशसभाले मुख्यमन्त्री छान्ने र प्रतिनिधिसभाले प्रधानमन्त्री छान्ने संवैधानिक प्रावधान छ । त्यसकारण आगामी निर्वाचनलाई प्रधानमन्त्रीको निर्वाचन भन्न सकिन्छ । संसदीय व्यवस्थामा प्रतिनिधिसभाको निर्वाचनकै क्रममा दलहरूले भावी प्रधानमन्त्री घोषणा गर्ने प्रचलन पनि छ । ०५६ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले आफ्ना पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेको थियो । त्यस बाहेक भावी प्रधानमन्त्री घोषणा गरेर संसदीय निर्वाचनमा दलहरू होमिएको नजीर नेपालमा छैन ।

यसपटक भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जानुपर्ने मत नेपाली कांग्रेसमा देखिएको छ । तर आकांक्षीहरू धेरै भएका कारण त्यो संभावना अत्यन्त न्यून छ । पहिलो कुरा त अन्य पार्टीहरूसँग चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले बहुमत ल्याउने संभावना जीवितै राख्छ कि राख्दैन ? भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । दोस्रो कुरा केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्न नसक्ने अवस्थामा भावी प्रधानमन्त्री घोषणा गर्न संभव हुन्न । तर प्रकाशमान सिंहले भावी प्रधानमन्त्रीका लागि इच्छा राख्नु नयाँ कुरा होइन । यसअघि पनि नेता सिंह संसदीयदलको नेता पदमा उम्मेदवार बनेका थिए । संसदीयदलको नेता पदमा उम्मेदवार हुनु भनेकै प्रधानमन्त्री पदमा उम्मेदवार बन्नु हो । अघिल्लोपटक नै प्रधानमन्त्री पदको आकांक्षा राखेका प्रकाशमान सिंह नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वउपसभापतिसमेत हुन् । साथै चार कार्यकाल सांसद तथा पटकपटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका नेता हुन् प्रकाशमान । अब प्रकाशमान प्रतिनिधिसभामा जानु भनेको प्रधानमन्त्री बन्नकै लागि हो ।

प्रकाशमान मुलुकले चिनेका नेतामात्रै होइनन्, मुलुक चिनेका नेता पनि हुन् । नेपाली कांग्रेसका संस्थापक, लौहपुरूष, सर्वमान्य नेता गणेशमान सिंह जसले प्रधानमन्त्री पद अस्वीकार गरेको नजीर छ । उनै दूरदर्शी राजनेताका सुपुत्र हुन् प्रकाशमान । नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्वका रूपमा मंगलादेवी सिंहको नाम अंकित छ । मंगलादेवी सिंह नेपालकी प्रथम महिला नेतृ हुन् भन्ने कुरामा कुनै विवाद छैन । उनै मंगला आमाका सुपुत्र हुन् प्रकाशमान सिंह । त्यसैले उनले भावी प्रधानमन्त्रीका लागि इच्छा राख्नु देश र जनताका लागि शुभ संकेत मान्नुपर्छ ।

नेपाली कांग्रेस स्थापना भएको सात दशक नाघिसकेको छ । यो अवधिमा नेपाली कांग्रेसको सभापतिका रूपमा बिपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा गरी सात जनाले नेतृत्व प्रधान गरिसकेका छन् । संयोगबस यी सातै जना मुलुकको प्रधानमन्त्री बनेका छन् । देउवाबाहेक अरू ६ जनाले ऐतिहासिक काम गरेर नेपाली कांग्रेसको उचाइ थपिसकेका छन् । परिस्थितिबस नेपाली कांग्रेसका अहिलेसम्मका सभापति तथा नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्नेहरू एउटै समुदायका छन् । जबकी नेपालमा जनसंख्याको हिस्सा खस–आर्य, मधेसी र जनजातिको बराबर जस्तै छ । प्रकाशमान सिंह जनजाति समुदायबाट अघि बढेका नेता हुन् । त्यसकारण पनि प्रधानमन्त्री पदमा आकांक्षा राख्नु प्रकाशमानको निजी मामिला होइन । उनको आकांक्षा राष्ट्रिय आवश्यकता हो । यो अवाश्यकताको आत्मसात धेरैले गरेका हुन सक्छन्, तर सभापति शेरबहादुर देउवाले आत्मसात नगरेसम्म यो आकांक्षाले फलदायी परिणाम दिन सक्दैन ।

भर्खर सम्पन्न १४औँ महाधिवेशनको समीकरण तथा जोड घटाउको विश्लेषण नगरी भावी प्रधानमन्त्रीका रूपमा प्रकाशमानको अवस्था आँकलन गर्नु हतार हुनेछ । प्रकाशमान कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उठेर ३ सय ७१ मत ल्याइ पराजित भएका थिए । यो मत झिनो भए पनि निर्णायक थियो । पहिलो चरणमा कसैको पनि बहुमत नआएपछि प्रकाशमानको मत निर्णायक बन्यो । उनले जसलाई साथ दिन्छन्, उही उम्मेदवार सभापति निर्वाचित हुने अवस्था सुनिश्चित बन्यो । सभापतिको दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई समर्थन गरे । देउवाको विजय र डा.शेखर कोइरालाको पराजयको निर्णायक कडी भनेका प्रकाशमान नै हुन भन्ने कुरामा कहीँ कतै द्विविधा छैन ।

देउवालाई सभापति पदबाट विस्थापित नगरेसम्म कांग्रेसको भविष्य छैन भन्दै कार्यकर्तालाई संझाइरहेका प्रकाशमान सिंह जब आपैmँ निर्णायक अवस्थामा पुगे, तब देउवालाई नै जिताइदिए । त्यसैले देउवा र प्रकाशमानबीच कुनै न कुनै लेनदेनको संझौता भएको छैन भनेर कसैले पनि पत्याएको छैन । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार उठायो । नाताले उनी प्रकाशमानकी श्रीमती पनि हुन् । तर प्रकाशमानकी श्रीमती हुनु नै सिर्जनाका लागि अभिसाप बन्यो । आफ्नी श्रीमतीलाई मेयर बनाउन प्रकाशमानले निर्णायक घडीमा देउवालाई साथ दिएको बुझाई कांग्रेसका आममतदाताको रह्यो । जसका कारण कांग्रेसका नेता–कार्यकर्ता असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई मत दिएर जिताए ।

यही साउन २१ गते एक कार्यक्रममा बोल्दै प्रकाशमानले भनेका थिए, ‘मलाई साथ दिए, नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो, असल नियत भएको, लोभ नभएको, नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्नेकुरा म देखाउन चाहन्छु । मैले त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले नेतृत्व खेलेको छ । अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले लिड गर्छ ।’

प्रकाशमान सिंहको भावी प्रधानमन्त्री बन्ने यो चाहानाले उनलाई अब कहाँ पु¥याउँछ हेर्न बाँकी छ । सभापति देउवाको ग्रिन सिग्नल लिएर नै प्रकाशमानले यो घोषणा गरेका हुन् भने त ठीकै होला, होइन भने आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रकाशमान विरुद्धको घेराबन्दी निकै ठूलो हुनेछ । पहिलो कुरा त कांग्रेसमा सभापति देउवा अझै प्रधानमन्त्री बन्ने चाहानामा छन् । उनले आपूmपछि पत्नी डा.आरजु राणालाई प्रधानमन्त्री बनाउने योजनामा रहेको बुझुन कत्ति पनि कठिन छैन । अघिल्लै आमनिर्वाचनमा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भावी प्रधानमन्त्री आरजु राणा भनेर भनिसकेका थिए । यसपटक पनि मीन विश्वकर्माले भावी प्रधानममन्त्रीका रूपमा डा.राणाको नाम लिइसकेका छन् । बस्नेत र विश्वकर्मा स्तरका कार्यकर्ताको झुण्ड डा.आरजु राणाको वरिपरि निकै ठूलो छ । यो झुण्डले प्रकाशमानलाई प्रतिनिधिसभामा पुग्नबाट रोक्नका लागि सकेसम्म प्रयत्न गर्ने नै भयो । त्यसो त नेपाली कांग्रेसको इतर पक्षका कार्यकर्ताहरू, देउवाको कार्यशैली मन नपराउने कार्यकर्ताहरू यसै पनि प्रकाशमानसँग चिढिएका छन् । उनीहरूले मतदानमा तलमाथि गर्ने संभावनालाई नजरअन्दाज गर्न मिल्दैन । यसैगरी गगन थापा प्रधानमन्त्री बन्नुपर्ने पक्षका युवाहरूको जमात सानो छैन । यो जमातले पनि प्रकाशमानलाई रोक्न हरसंभव प्रयत्न गर्ने नै भयो । त्यसमा पनि काठमाडौंको क्षेत्र नं १ का कांग्रेसी मतदाता भनेका ०४८ सालको आमनिर्वाचनदेखि नै अन्तरघात गर्न बानी परेका मतदाताहरू हुन् । गत आमनिर्वाचनमा अन्तरघातको बाबजुद पनि प्रकाशमानले चुनाव जितेका हुन् ।

अहिलेको परिस्थिति प्रकाशमानका लागि कतिसम्म खतरनाक छ भन्ने कुरा राजनीतिक विश्लेषक प्रा.कृष्ण खनालको एक टिप्पणीले पनि प्रष्ट पार्छ । प्रा.खनालको टिप्पणी छ, ‘देउवा आफू प्रधानमन्त्री नबन्ने स्थिति आए कांग्रेसका अन्यलाई दिँदैनन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन लागि पर्नेछन् भन्ने चर्चा पनि छ । भावी संसद्मा आधा– आधा समय प्रधानमन्त्री बन्ने देउवा र प्रचण्डबीच भित्री जेन्टलमेन्ट सहमति भएको चर्चा पनि सुनिन्छ ।’

यसैगरी यसपटक सभापति देउवाले केही न केही दिने नै छन् भनेर वयोवृद्ध नेता रामचन्द्र पौडेल ठूलै आस गरेर बसेका छन् । राष्ट्रपति बनेर राजनीतिबाट विश्राम लिने आशामा बसेका बयोवृद्ध नेता पौडेल, इतर पक्षबाट प्रधानमन्त्री पदका स्वभाविक दावेदार डा. शेखर कोइराला, बिपीपुत्र डा.शशांक कोइराला, उपसभापति पूर्णबहादुर खडका, पूर्वउपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, युवा नेता महामन्त्री गगनकुमार थापासँग पनि प्रकाशमानले एकै साथ फेस गर्नुपर्ने हुन्छ । उनीहरूले अब प्रकाशमानप्रति कस्तो व्यवहार गर्छन् ? उनलाई काठमाडौं क्षेत्र नं १ बाट जिताउँछन् कि हराउन भूमिका खेल्छन् ? हेर्न बाँकी छ । कांग्रेस र नेपालकै राजनीतिक दलको इतिहास हेर्दा भावी प्रधानमन्त्री हुन सक्ने जनाधार र पार्टीभित्र हैसियत भएका नेतालाई प्रतिनिधिसभा निर्वाचनमै हराउने गरिएको छ । विगतमा कष्णप्रसाद भट्टराई र मंगलादेवी सिंह यो कोपभाजनमा परेका धेरैलाई थाहा छ । गत आमनिर्वाचनमा रामचन्द्र पौडेल र विमलेन्द्र निधिले चुनाव हारेका होइनन्, हराइएको हो । प्रकाशमानले भने अन्तरघातका बाबजुद पनि जितेका हुन् ।

पारिवारिक विरासत भए पनि प्रकाशमान सिंह र विमलेन्द्र निधि भने तलैदेखि राजनीति गर्दै माथि पुगेका नेता हुन तर यी नेताहरूमा परिस्थिति अनुसार ठोस विश्लेषण गर्ने क्षमता भने कमजोर देखिन्छ । आसपमा मिल्न नसक्नु नै प्रकाशमान र बिमलेन्द्रको ठूलो कमजोरी हो । प्रकाशमान र निधिको द्वन्द्व नै देउवाका लागि अवसर बनिरहेको छ । पटकपटक मन्त्री र उपप्रधानमन्त्री बन्दा भने सिंहले विशेष काम गरेर खासै पर्फर्मेन्स देखाउन नसकेको, औसत र यथास्थितिमै काम गरेको विश्लेषण नयाँ पुस्ताका मतदाताको छ ।

प्रकाशमान ०४८ साल र ०५१ सालमा पराजित भए । ०५३ देखि ०५९ सम्म राष्ट्रिय सभाको सांसद बने । ०६४ साल यताका तीनै वटा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट जितेर सांसद बनेका छन् । प्रकाशमान पहिलोपटक चुनाव लड्दा काठमाडौंका वर्तमान मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल जन्मेका पनि थिएनन् । एकतिहाइभन्दा बढी मतदाताहरूको जन्म ०४८ साल यता भएको हो । त्यो मत नै निर्णायक हो । त्यसैले प्रकाशमानको तत्कालीन प्राथमिकता भनेको जसरी हुन्छ प्रतिनिधिसभामा पुग्नु नै हो । त्यसपछि देखा जाएगा ।

प्रतिक्रिया