राससकर्मी भण्डारी र रेग्मीसहित तीन पत्रकार सम्मानित

रामपुर । नेपाल प्रेस युनियन पाल्पाले दुई राससकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ । रासस केन्द्रीय कार्यालयमा कार्यरत जीवन भण्डारी, रामपुर पाल्पाकी समाचारदाता सुशीला रेग्मी र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई सम्मान गरेको हो ।

गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा निर्वाचित पाल्पाली पत्रकार उपाध्यक्षद्वय भण्डारी (उपत्यका उपाध्यक्षतर्फ), अर्याल (लुम्बिनी प्रदेशतर्फ) र केन्द्रीय सदस्य सुशीला रेग्मीलाई बधाई शुभकामना दिँदै सम्मान गरेको प्रेस युनियन शाखाका सभापति भरत शर्माले बताए ।

केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन् । राससको उपसम्पादकसँगै भण्डारी विभिन्न सञ्चारमाध्यममा आवद्ध छन् ।

केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । उनी कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादकसमेत हुन् ।

यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित भएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि राससलगायतका विभिन्न सञ्चारमाध्यममा आवद्ध हुँदै पत्रकारिता गर्दै आएकी छन् ।

लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सम्मान गर्दै पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने बताए । पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिका रुपमा प्रयोग नहुन मन्त्री रानाले अनुरोध गरे । उनले लोकतन्त्रको संस्कार बोकेका पत्रकारले सही र सत्यतथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया