एमालेको प्रतिगामी लाइन मुख्य चुनौती

मोहनविक्रम सिंह

अहिले पनि देशमा प्रतिगमनको खतरा गम्भीर रूपमा छ । राजावादीहरूले पहिलेदेखि नै बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि अभियान चलाउँदै आएका छन् र अहिले पनि उनीहरूको त्यो अभियान कायम नै छ । अहिले ओलीको नेतृत्वमा रहेको एमालेले पनि प्रतिगमनको बाटो समातेको छ । भारतका कट्टर हिन्दूवादी शासकवर्गहरूले पनि त्यो प्रतिगामी अभियानलाई समर्थन गरेका छन् । त्यसले गर्दा प्रतिगमनको खतरा अहिले ०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुन गएको छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका चुनावहरू गर्ने घोषणा गरेको छ । त्यो चुनावसित सम्बन्धित विभिन्न पक्षहरूबारे विचार गर्न श्रावण २० गते हाम्रो पार्टी ने.क.पा.(मसाल) केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यो बैठकले चुनावको घोषणालाई स्वागत गरेको छ र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यसका साथै त्यो चुनावसित सम्बन्धित विभिन्न समस्याहरूतिर पनि हाम्रो ध्यान गएको छ । ती समस्याहरूलाई समाधान गरेर नै चुनाव सन्तोषजनक प्रकारले सम्पन्न हुन सक्नेछ भन्ने हाम्रो मत रहेको छ । खास गरेर यसभन्दा पहिले चुनावमा देखिएका विभिन्न गल्ती र कमजोरीहरूको पुनरावृत्ति भएमा चुनाव सन्तोषजनक प्रकारले सम्पन्न हुने कुरामा शंका रहनेछ ।
निर्वाचन आयोगले चुनावलाई निष्पक्ष र भयरहित बनाउन आचारसंहित बनाएर त्यसको व्यापक प्रचार पनि गरेको थियो । तर चुनावको बेलामा आचारसंहिताको धेरै नै उल्लंघन भयो र पैसाको पनि व्यापक रूपले चलखेल गरियो ।

त्यस प्रकारको अनियमिततालाई रोक्न निर्वाचन आयोग र प्रशासन असफल भएका छन् । आगामी चुनावमा त्यस प्रकारको अनियमिततालाई रोक्नु विशेष ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । हाम्रो यो विश्वास रहेको छ कि अहिले पनि देशमा प्रतिगमनको खतरा गम्भीर रूपमा छ । राजावादीहरूले पहिलेदेखि नै बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नको लागि अभियान चलाउँदै आएका छन् र अहिले पनि उनीहरूको त्यो अभियान कायम नै छ । अहिले ओलीको नेतृत्वमा रहेको एमालेले पनि प्रतिगमनको बाटो समातेको छ । भारतका कट्टर हिन्दूवादी शासकवर्गहरूले पनि त्यो प्रतिगामी अभियानलाई समर्थन गरेका छन् । त्यसले गर्दा प्रतिगमनको खतरा अहिले ०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुन गएको छ । आगामी संसदीय र प्रदेश सभाका चुनावहरूमा प्रतिगमनको विजय भयो भने जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धि समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा रहनेछ । त्यसैले प्रतिगमनलाई पराजित गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।

हामीले पहिलेदेखि नै विश्लेषण गर्दै आएका थियौँ कि ओलीले धर्मनिरपेक्षताको ठाउँमा हिन्दू राष्ट्रको स्थापना र गणतन्त्रको ठाउँमा राजतन्त्रको पुनस्र्थापनाको प्रतिगामी नीति अपनाउन थालेका छन् । त्यसैले नेपालका प्रतिगामी शक्तिहरू र भारतीय साम्राज्यवादसित उनको साँठगाँठ बढ्दै गइरहेको छ । त्यसकारण हामीले स्थानीय चुनावका बेलामा एमालेसित कुनै तालमेल नगर्ने नीति अपनाएका थियौँ र आगामी चुनावमा पनि राजावादी र एमालेसित कुनै तालमेल नगर्ने नीति हाम्रो पार्टीको केन्द्रीय समितिले ठेगान गरेको छ ।

अहिले कतिपय समाचारपत्रहरूले एमालेले धर्म र राष्ट्रियतालाई मुख्य मुद्दा बनाएर चुनाव लड्ने नीति बनाएको कुरा बाहिर ल्याएका छन् । त्यसबाट ओली धर्मनिरपेक्षताको विरुद्ध र हिन्दू राष्ट्रको पक्षमा भएको भन्ने हाम्रो पहिलेदेखिको आलोचना सही सावित भएको छ । हिन्दू राष्ट्रको नीतिले उनीहरूलाई गणतन्त्रका विरुद्ध र राजतन्त्रको पक्षमा लैजान्छ । त्यही कारणले राजावादीहरूले ओलीका कदमहरूलाई समर्थन गर्न थालेका छन् । त्यही प्रकारको प्रतिगामी नीतिका कारणले नै ओलीले दुई÷दुईपल्ट संसद्लाई विघटन गरेका थिए र संसद्को पुनस्र्थापनापछि पनि लामो समयसम्म त्यसलाई अवरूद्ध गर्ने नीति अपनाएका थिए ।

गणतन्त्रका पक्षमा बढेको उच्च जनचेतनाका कारणले राजावादीहरूको स्थिति धेरै नै कमजोर भएको छ र आफ्नै शक्तिका बलमा उनीहरू नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने अवस्थामा छैनन् । त्यसैले उनीहरूले ओली र भारतीय साम्राज्यवादको मद्दतले आफ्ना प्रतिगामी उद्देश्यहरू पूरा गर्ने प्रयत्न गरिरहेका छन् ।

एमालेले अहिले धर्मका साथै राष्ट्रियतालाई पनि चुनावी मुद्दाको रूपमा अगाडि सारेको देखिन्छ । एमालेको त्यस प्रकारको प्रचारमा सत्यता छैन । ओली सरकारको एमसिसीप्रति पूरा समर्थन रहेको कुरा आमरूपमा नै विदित छ । जनदबाब र स्वयं आफ्नै संगठनको दबाबाका कारणले पनि उनीहरू कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालमा देखाएर संसद्द्वारा त्यो नक्सा पारित गराउन तयार भएका थिए । अहिले उनीहरूले त्यो नक्सा आफ्नो पालामा पारित भएको भनेर निकै हल्ला गरिरहेका छन् । तर त्यो नक्सा सामेल गरिएको पाठ्यपुस्तकको प्रकाशनमा उनीहरूले रोक लगाएका थिए । संसद्मा नागरिकता विधेयकमा मतदान हुँदा एमालेका सांसदहरू मौन बसेको कुरा पत्रपत्रिकाहरूमा सार्वजनिक भएको छ । यी केही उदाहरणहरूबाट पनि प्रष्ट हुन्छ कि राष्ट्रियताप्रतिको उनीहरूको प्रचार कृतिम मात्र हो र त्यो जनतालाई भ्रममा पारेर भोट प्राप्त गर्ने एउटा चाल मात्र हो ।

एमालेबाट खाली प्रतिगमनको मात्र खतरा छैन । संसद्मा अल्पमतमा परेपछि दुई÷दुईपल्ट संसद्को विघटन गरेको कुराबाट उनीहरूको कार्यशैली पनि अधिनायकवादी भएको कुरा छर्लंग हुन्छ । त्यसैले चुनावमा उनीहरूले बहुमत वा दुईतिहाइ बहुमत प्राप्त गरे भने देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने कुरा निश्चित छ । उपर्युक्त स्थितिमा प्रतिगमनलाई पराजित गर्नको लागि प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिहरूका बीचको एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले हाम्रो पार्टीले पाँच दलीय गठबन्धनमा जोड दिएको थियो र आगामी चुनावमा पनि पाँच दलीय चुनावी तालमेलको नीतिमा जोड दिइरहेको छ । यस प्रकारको नीतिका गतकालमा महत्वपूर्ण उपलब्धिहरू भएका छन् र पाँच दलीय चुनावी तालमेलको नीतिद्वारा आगामी चुनावमा पनि प्रतिगमनलाई निर्णयात्मक प्रकारले पराजित गर्नु सम्भव हुने छ भन्ने हामीलाई विश्वास छ ।

तर पाँच दलहरूको बीचमा त्यसप्रकारको तालमेलको नीतिलाई कार्यान्वयन गर्ने प्रश्नमा देखापरेको ढुलमुल अवसरवादी कार्यप्रणाली र इमानदारीको कमीका कारणले प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्न मुस्किल पर्ने प्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसो भएमा देश प्रतिगमन र अधिनायकवादतिर जाने सम्भावना रहनेछ र त्यसका गम्भीर प्रकारका दूरगामी दुष्परिणामहरू हुनेछन् ।

गत स्थानीय चुनावका बेलामा पाँच दलका बीचमा एमालेसित कुनै चुनावी तालमेल नगर्ने समझदारी भएको थियो । राजमोले मात्र त्यो नीतिलाई इमानदारी र दृढतापूर्वक कार्यान्वयन ग¥यो, तर अन्य पक्षहरूले ठाउँठाउँमा पाँच दलको स्वीकृत नीतिका विपरीत एमालेसित पनि तालमेल गर्ने नीति अपनाएका थिए । कतिपय स्थानहरूमा पाँच दलद्वारा स्वीकृत उम्मेदवारका विरुद्ध उम्मेदवार खडा गर्ने वा कतिपय स्थानहरूमा स्थानीय तहका सहमतिका उम्मेदवारका विरुद्ध पनि अन्तर्घात गर्ने कार्यहरू भएका छन् । कतिपय स्थानहरूमा पाँच दलका बीचमा सहमतिका उम्मेदवारहरू खडा गर्ने विषयमा पनि पर्याप्त छलफल गरिएन । स्थानीय चुनावका त्यस प्रकारका गल्ती र कमजोरीहरू आगामी चुनावमा नदोहोरिउन् । त्यसका लागि सम्बन्धित सबै पक्षहरूको ध्यान जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

प्रतिगमनको विरुद्धको संघर्ष अहिलेको राष्ट्रिय आवश्यकता भएको हुनाले त्यसलाई पराजित गर्नको लागि पहिले झै आगामी चुनावमा पनि पाँच दलीय चुनावी तालमेल आवश्यक छ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ र त्यो नीतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नको लागि हामीले सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछौँ र हामीले आफ्ना तर्फबाट पनि इमानदारीपूर्वक त्यो नीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता प्रकट गर्दछौँ । तर त्यसप्रकारको तालमेल हुन नसकेमा हामी एक्लै पनि चुनावमा जानेछौँ । हामीले चुनावमा जीत र हारलाई भन्दा बढी नीति र राजनीतिलाई नै बढी जोड दिन्छौँ । त्यसैले चुनावमा एक्लै जानुपरेको अवस्थामा पनि हामीले आफ्नो नीति र राजनीतिलाई देशव्यापी रूपमा अगाडि बढाउने प्रयत्न गर्ने छौँ र त्यसबाट हुने उपलब्धि कैयौँ गुणा बढी महत्वपूर्ण हुनेछ भन्ने कुरामा हामीलाई दृढ विश्वास छ । तर, त्यसरी एक्लै जाने नीति हामीले अन्य पक्षहरूले चुनावी तालमेलको नीतिलाई इमानदारीपूर्वक अपनाएनन् भने मात्र बाध्यतावश अपनाउनेछौँ । तर, हाम्रो मुुख्य जोड निर्णयात्मक रूपले प्रतिगमनलाई पराजित गर्नको लागि पाँच दलीय चुनावी तालमेललाई सफल पार्नेतिर नै हुनेछ ।

अहिले हामीले चुनावका लागि देशव्यापी रूपमा आफ्नो तयारी गर्ने काम गरिरहेका छौँ । त्यसको लागि देशका विभिन्न भागहरूमा विभिन्न स्तरमा बैठक, प्रशिक्षण, भेला वा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको चयन गर्ने काममा पनि हामी लागेका छौँ । त्यसैले हामीलाई विश्वास छ, आगामी चुनावमा राजनीतिक प्रचार, संगठनात्मक विस्तार र जनाधारको निर्माणका कार्यहरूमा अरू महत्वपूर्ण सफलताहरू प्राप्त हुनेछन् भन्ने हामीले आशा गरेका छौँ ।

राष्ट्रिय जनमोर्चाको देश र जनताको बीचमा इमानदारीपूर्वक काम गरेको लामो र गौरबपूर्ण इतिहास छ । त्यसैले चुनावमा त्यसलाई जनताको व्यापक समर्थन प्राप्त हुनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । एउटा कुरामाथि हामीले प्रकाश हाल्न चाहन्छौँ । चुनावको बेलामा मतदाताहरूको मत किन्नका लागि ठूलो पैंमानामा पैसाको खर्च गर्ने गरिएको छ । त्यसरी जनतालाई भेडा–बाख्रा जस्तै किनबेच गर्ने गरिएको छ । तर हामीले नीति, सिद्धान्त र राजनीतिका आधारमाा नै जनताका बीचमा जाने गरेका छौँ । त्यसरी नै चुनावद्वारा जनताका सच्चा प्रतिनिधि निर्वाचित हुनेछन् भन्ने हामीलाई विश्वास छ ।

हामीले यो कुरा बारम्बार स्पष्ट गर्दै आएका छौँ कि अहिले हामीले जुन पक्षहरूसित चुनावी तालमेल गर्ने नीति अपनाएका छौँ, उनीहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । संघीयताको प्रश्नमा हाम्रो पहिलेदेखि नै गम्भीर मतभेद रहँदै आएको छ । एमसिसी र नागरिकता विधेयकको प्रश्नमा पनि हाम्रो अन्य पक्षहरूसित तीव्र मतभेद रह्यो । सरकारका अन्य कतिपय नीति र क्रियाकलापहरूसित पनि हाम्रा गम्भीर प्रकारका मतभेदहरू रहँदै आएका छन् । तिनीहरूबारे हामीले संसद्भित्र वा बाहिर पनि लगातार आवाज उठाउँदै वा संघर्ष गर्दै आएका छौँ । तर संयुक्त मोर्चाको नीतिले यो बताउँछ कि सैद्धान्तिक र रणनीतिक विषयहरूमा विरोध भएका पक्षहरूसित पनि कार्यनीतिक रूपमा आवश्यकताअनुसार हामीले अन्य पक्षहरूसित सठबन्धन गरेका थियौँ र अहिले चुनावी तालमेल गर्नुपर्ने आवश्यकतामाथि जोड दिइरहेका छौँ । हाम्रो यो नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुरूप छ, त्यसैले, सही पनि छ ।

अन्तमा, हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन्न र देशको दिगो विकास हुन सम्भव छैन । त्यसकारण हाम्रो आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो मुख्य प्रयत्न त्यसलाई सफल पार्नका लागि नै हुनेछ । तैपनि जनताका तत्कालीन समस्याहरूलाई सकेसम्म समाधान गर्नका लागि हामीले संसदीय प्रणालीलाई पनि उपयोग गर्ने नीति अपनाएका छौँ र त्यसरी पनि जनताका अधिकतम समयस्याहरू समाधान गर्ने र देशको विकास गर्ने हाम्रो प्रयत्न हुनेछ ।

प्रतिक्रिया