बाँदर धपाउन किसानलाई बन्दुक वितरण

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो ।

बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् । बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।

राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक दुई हजार सात सयमा खरिद गरेर कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने ‘बादरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएका हौँ ।’
‘बाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १ सय २६ बन्दुक बाँडेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘यसको उपयोगिता राम्रो देखियो भने, पछि अरू पनि वितरण गर्ने गाउँपालिकाको योजना छ ।

वडामा १४र१४ वटाका दरले १ सय २६ थान बन्दुक वितरण गरिएको छ। अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि दोर्दीका किसान चिन्तित थिए ।

प्रतिक्रिया