छायाँनाथ धामको तीर्थयात्रा सुरु

साउन । देशका विभिन्न धाममध्ये छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको छ ।

शुक्रबार छायाँनाथ रारा नगरपालिका– २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवको मूर्ती पूजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा सुरु भएको हो ।

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसँगै छायाँनाथ धाम तीर्थयात्र सुरु भएको मानिन्छ ।

शुक्रबार लगिएको शिवको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।

जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पूजारी सनत कुमार हमालले बताए ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पूजारीको भनाइ छ । छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् ।

शुक्रबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछ । यसैबीच, शुक्रबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन् । त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।

प्रतिक्रिया