सम्बन्धविच्छेदका घटना बढ्दै

मनाङ । हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष ०७८÷७९ मा नौ वटा घटना फस्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको छ ।

‘विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्यांक छैन । तर हाल भने दर्ता हुने र फस्र्यौट पनि हुने गरेको छ । यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फस्र्यौट भएको छ,’ जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भने, ‘यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।’

श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताए । उनका अनुसार जिल्लामा सम्बन्धविच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ । त्यस्तै आव २०७८÷७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटाबाहेक अन्य सबै फस्र्यौट भएको अदालतले जनाएको छ । अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एक वटा मुद्दाको फस्र्यौट भएको श्रेस्तेदार बडूले बताए । एउटा जबर्जस्ती करणीको मुद्दा भने फस्र्यौट हुन बाँकी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया