प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा एकजना महिलाको घतनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । स्वर्गद्वारी मन्दिरबाट भिङ्ग्री तर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका– ३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईतेमध्य ९ जनाको अवस्था गम्भीर रहेको छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाईतेहरुलाई बुटवरिफर गरिएको प्रमुख प्रहरी नायव उपरीक्षक थापाले बताए ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्व गरेर शुक्रबार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए । दुर्घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्युठान
प्रतिक्रिया