एसईईको नतिजा : कर्णाली प्रदेश सबैभन्दा कमजोर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरेको छ । यसपटक बोर्डले दुई वर्षपछि एसईईको परीक्षा सञ्चालन गरेको थियो । यसअघि दुई वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण बोर्डले आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशित गरेको थियो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरे पनि अन्तिम समयमा आएर परिवर्तन गरेको छ । कोरोनाले गर्दा दुई वर्ष विद्यार्थीहरूले राम्रोसँग अध्ययन गर्न नपाएको कारण देखाई यसअघिको जस्तै गरी सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्तांकलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरेको छ ।


बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । उक्त जिपिए ल्याउने विद्यार्थीमा ५ हजार २ सय ८१ छात्र र ४ हजार ३ सय ५२ जना छात्रा रहेका छन् ।
यसैगरी ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ रहेको छ । उक्त जिपिए ल्याउने विद्यार्थीमध्ये २२ हजार ४ सय ९१ छात्र र १९ हजार १ सय ३५ जना छात्रा रहेका छन् । ६९ हजार ९ सय विद्यार्थीले २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ल्याएका छन् । उक्त जिपिए ल्याउने विद्यार्थीमा ३७ हजार ८ सय ७१ छात्र र ३२ हजार २५ जना छात्रा रहेका छन् ।


यसैगरी २ दशमलव ४ देखि २ दशमलव ८ जिपिए ल्याउने विद्यार्थीको संख्या ९० हजार ७ सय ५८ जना रहेको छ । उक्त जिपिए ल्याउने विद्यार्थीमध्ये ४६ हजार ८ सय ९८ छात्र र ४३ हजार ८ सय ५७ जना छात्रा रहेको बोर्डले जनाएको छ ।
यसैगरी २ दशमलव शून्यदेखि २ दशमलव ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ रहेको छ । उक्त जिपिए ल्याउने विद्यार्थीमध्ये ५३ हजार ७ सय ४२ छात्र र ५८ हजार ९ सय ८० जना छात्रा रहेका छन् । १ दशमलव ६ देखि २ दशमलव शून्य जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख ५ सय ९४ रहेको छ । उक्त जिपिए ल्याउने विद्यार्थीमा ४६ हजार ७ सय ६७ छात्र र ५३ हजार ८ सय २३ जना छात्रा छन् ।


यसैगरी १ दशमलव २ देखि १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ रहेको छ । उक्त जिपिए ल्याउने विद्यार्थीमध्ये २३ हजार ३ सय ८० छात्र र २१ हजार २ सय ४ जना छात्रा रहेका छन् । ३ हजार २ सय ८० विद्यार्थीले शून्य दशमलव ८ देखि १ दशमलव २ जिपिए ल्याएका छन् । उक्त जिपिए ल्याउनेमा १ हजार ६ सय ५२ छात्र र १ हजार ६ सय २८ जना छात्रा रहेका छन् ।


गत वैशाख ९ गतेदेखि सुरु भएको एसईई परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका २ हजार ७ सय परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए । यसपटकको परीक्षामा २२ हजार ६ सय ४० परीक्षार्थी परीक्षामा अनुपस्थित रहेका थिए ।


३५ अंकभन्दा तलकालाई ग्रेडमा गणना नगरी ‘नन ग्रेड’ राख्ने र ग्रेडसिट उपलव्ध नगराउने भन्ने निर्णय अन्तिम समयमा परिवर्तन गरी पुरानै नियम लागू गरेको छ । यसपटक एसईई परीक्षाको नतिजामा बागमति प्रदेश सवैभन्दा राम्रो देखिएको छ । प्रदेशगत रूपमा तुलना गर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । एसईईमा ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी वागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशबाट ९ हजार ६ सय ३३ जना विद्यार्थीले उक्त जिपिए प्राप्त गरेकोमा ४७ दशमलव ७७ प्रतिशत वागमती प्रदेशका छन् ।


सबैभन्दा कम ३ दशमलव ६ देखि ४ जिपिए ल्याउनेमा कर्णाली प्रदेश रहेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेश रहेको छ । कर्णाली प्रदेशमा विद्यार्थीको संख्या पनि सबैभन्दा कम साढे सात प्रतिशत मात्र रहेको छ । मधेस प्रदेशबाट उच्च जिपिए (३.६–४) प्राप्त गर्ने विद्यार्थीको संख्या पनि १५ प्रतिशत रहेको छ ।
उच्च जिपिए प्राप्त गर्नेमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ भन्दा पनि मधेस प्रदेश अगाडि देखिन्छ । उच्च जिपिए ल्याउने विद्यार्थीमध्ये प्रदेश–१ बाट १२ प्रतिशत, गण्डकीबाट आठ प्रतिशत, लुम्बिनीबाट साढे १२ प्रतिशत र कर्णालीबाट १ दशमव १८ प्रतिशत र सुदूरपश्चिमबाट दुई प्रतिशत रहेका छन् ।

प्रतिक्रिया