वडा कार्यालयबाट घरदैलोमै सेवा

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका– ४ वडा कार्यालयले घरदैलो सेवा सुरु गरेको छ । वृद्धवृद्धाहरुलाई आउजाउको समस्या भएको भन्दै वडा कार्यालयले घरदैलोमै पुगेर सेवा दिएकाे वडा कार्यालयले जानकारी दिएको छ ।

वृद्धवृद्धाहरुको सामाजिक सुरक्षा भत्ता नविकरणसँगै ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरुको नयाँ नामावली दर्ता गर्नेलगायतका सेवाहरु वडाका विभिन्न बस्तीमा पुगेर सेवा दिन लागिएको वडाध्यक्ष भिमबहादुर घर्तीमगरले जानकारी दिए ।

कार्यालयले सूचना निकालेर साउन ८ गते सुत्लावाङ र एकराते, ९ गते झुंदि, सानो सिउजी र ठूलो सिउजी १० गते देउरालीमा ११ गते र वडा कार्यालयमा १५ गते शिविर सञ्चालन हुने वडा अध्यक्ष घर्तीमगरले बताए ।

‘झरी लाग्यो बाटो हिलो र अप्ठ्यारो छ, बाढी पहिरो र भौगोलिक बिकटता भएकोले वृद्धवृद्धाहरुलाई वडा कार्यालयमा आउजाउ गर्न समस्या हुन्छ’, वडाध्यक्ष घर्तीमगरले भने, ‘ज्येष्ठ, अशक्त, अपांग र बिधुवा नागरिकहरु कार्यालयसम्म आउन समस्या हुने भएकोले सहजताका लागि अभियान थालिएको छ।’

वडाका कर्मचारी र जनप्रतिनिधि मिलेर ज्येष्ठ, अपांग, बिधुवा, अशक्त नागरिकहरुको समस्या र सेवामा वडा कार्यालयको तर्फबाट सधैव सक्रिय भएर काम गर्ने अध्यक्ष घर्तीमगरले बताए ।

प्रक्रिया पुगेका स्थानीय जनतालाई नविकरण गर्न पासपोर्ट साइजको फोटो नागरिकताको प्रतिलिपी भत्ता बुझ्ने कार्डको फोटोकपी र नयाँको लागि नागरिकता लिएर आउनुपर्ने प्राविधिक यमलाल गिरीको भनाइ छ ।

साउन ८ गतेदेखि सुरु गरिएको अभियान १५ गतेसम्म चल्ले छ । आजसम्म नयाँ निवेदन १० जनाको गरिएको छ भने २५० जनाको नविकरण गरिएको प्राविधिक गिरीले बताए । यसअघि माण्डवी गाउँपालिका– ३ र प्युठान नगरपालिका– ३ ले पनि बस्तीस्तरमै पुगेर सेवा प्रवाह गरेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया