अर्घाखाँची । नेपालमा आन्तरिक पर्यटनको अवधारणाको विकास धेरैपछि भएको हो । नेपालमा बाह्य पर्यटनले मात्र महत्व पाएको हुनाले नेपालको पर्यटन उद्योग काठमाडांैमा केन्द्रित हुन पुग्यो । ठूलाठूला होटल सूचनात्मक तथा मरोरञ्जनात्मक गन्तव्य स्थल एवं अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको विकास केबल काठमाडांै केन्द्रित भए जिल्लाका पर्यटकीय स्थलहरू उपेक्षित रहे । नेपालजस्तो विकासशील मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डोराउन आन्तरिक पर्यटनले उल्लेखनीय भूमिका खेल्न सक्ने भएकोले आन्तरिक पर्यटनमा देश भित्रकै अनेक स्थानहरूमा देशवासीहरू अध्ययन मनोरञ्जन तथा अन्य विभिन्न उद्देश्यहरूले पुग्दछन् । यसरी उनीहरूले विभिन्न स्थानहरूमा पुग्दा यातायात साधन, होटल रेस्टुरेन्ट, पसल सिनेमा हलहरू माग गर्दछन् । यी सुबिधाहरू उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमका काम गर्दा स्वतः रोजगारी सिर्जना हुनुका साथै प्रत्यक्ष रूपमा आर्थिक उर्पाजनसमेत हुन्छ ।
प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल ऐतिहासिक स्थल प्राचीन, सांस्कृतिक स्थलहरू आदि आन्तरिक पर्यटकका गन्तव्य स्थानहरू हुन सक्दछन् । संस्कृति, संस्कार प्राचीन सभ्यता र सामग्रीको रक्षाको उद्देश्यले अर्घाखाँचीमा स्थापना गरिएको बैकुण्ठपुरी संग्रहालयमा अहिले आन्तरिक पर्यटकहरूको रोजाइमा आकर्षण बढ्दै गएको छ ।
पराम्परागत सामग्री पछिल्लो समय हराउँदै गएका छन् । पहिले पहिले देखिने पुराना माना, पाथी, कोल, जाँतो, ढिकी, हलो, जुवा, ठेकी, मदानी, सेउ, हाँडी पैनी, मादल चौठी, सोली, डाला, बाँण, सेउ, गुलेली, फुगो, चिलिम, सुल्फा, हर्पे, मदुस, क्यासेट, टुकी, ढेब्री पैनी, बाटो तथा चौतारामा राख्ने, धर्मशाला लगायतका पुरानी ऐतिहासिक सामानहरू देखिन्छन् । आधुनिक प्रविधिको विकास भएसँगै पुराना सामग्रीहरू लोप हँुदै गएको अवस्थामा यसरी सग्रहालय स्थापना गरी अगाडि बढ्दा थप आकर्षण बढेको छ ।
ऐतिहासिक हाम्रो पुर्खाहरूले प्रयोग गर्दे आएका सामग्रीहरूको संकलन गरी संग्रहालय स्थापना गरेको बैकुण्ठपुरी संग्रहालयका अध्यक्ष तथा सञ्चालक निमबहादुर रिजालले बताए । रिजालले भने, ‘आजलाई होइन, हाम्रो पुर्खाको चिनोको रूपमा हस्तान्तरण गर्नका लागि रिसर्च सेन्टरको रूपमा विकास गर्दै तेस्रो पुस्तालाई बाउबाजेको चिनोको रूपमा विकास गर्ने उद्देश्यले स्थापना गरेको हो, सबैको सहयोग आवश्यक छ, मलाई सुरुआती चरणमा आफन्त र गाउँलेहरूले कबाडी समान बटुल्यो भनेर मलाई खिसी गर्थे, तर आज उहाँहरू नै आयर एक सय रुपैयाँको टिकट लिई अवलोकन गर्नुहुन्छ ।’
सन्धिखर्क नगरपालिका–४ साबिक वाङलामा करिब ४ रोपनी जग्गामा पुराना कला कौशलका सामान मनोरम दृश्यमा आकर्षण तरीकाले हेर्न सकिने गरी स्थापना गरिएको छ संग्रहालय स्थापनालाई पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासमा पनि सहयोग पुगेको गाउँलेहरूको भनाइ रहेको छ ।
गाउँको वातावरणमा खोलिएको संग्रहालयमा पनि दैनिक जसो ५० जना र बिदाको दिनमा करिब सय जनाभन्दा धेरैको संख्यामा संग्रहालयमा आउने गरिएको सञ्चालक उमा रिजालले बताइन् । उमाका रिजालले भनिन्, ‘बिदाका दिन होस् वा अन्य दिन यहाँ मानिसहरूको भिड नै हुन्छ, यहाँ मानिसहरूले पुराना सामग्री हेर्न फोटो खिच्न, भिडियो बनाउन, टिकटक बनाउन र मगर ड्रेसलगायत विभिन्न खालका पोसाक लगाई नाच्न रमाईलो गर्न आउँछन्,आएका सबैजना नै सन्तुष्ट भएर गएको पाउँछौ ।’
‘निकै लामो संर्घषपछि मैले बनाएको सोचले पूर्णता पाएको र पाउने क्रममा छ अझै पूरा काम भएको छैन, अहिले तीन जना कर्मचारी र म सँगै श्रीमती उमा छौँ, घुम्न आउने मानिसहरू यहाँको दृश्य र सामग्री देखेर रमाउनुहुन्छ मलाई यसमै आनन्द लाग्छ, अब यसलाई होमस्टेको रूपमा पनि विकास गर्दैछौ’, रिजालले भने ।
पछिल्लो समय पुराना सामग्री कला संस्कृति भाषा सभ्यताकहरूको लोप हँुदै गएको अवस्थामा यसरी संग्रहालय नै स्थापना गरी अगाडि बढ्नु निकै महत्वपूर्ण कार्यको रूपमा लिएको छ । हालसम्म प्रर्याप्त रूपमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएको गुनासोसमेत सञ्चालकहरूल गरेका छन् । यस्ता खालका ऐतिहासिक महत्वका सामग्रीहरूको संरक्षण प्रवद्र्धन गर्नु राज्यको पनि मुख्य दायित्व हो ।
प्रतिक्रिया