दुबईमा अलपत्र परेका डिलबहादुरको उद्धार

कावासोती । वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र परेका थिए ।

कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन् । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चकी कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम संकलन भएको बताइन् ।

युएईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् ।

प्रतिक्रिया