चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । तीमध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन । उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिए । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशंका रहेको छ । अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ ।
मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उनले बताए । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्यांकले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् ।
बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको बताइन्छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार चार सय ९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र चार सय २५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ । पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् ।
निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा रेकर्ड भएका छन् । यीमध्ये ६ सय ९४ चितवनमा रहेका छन् ।
यो सँख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६ सय पाँच र सन् २०११ मा पाँच सय तीन गैँडा भेटिएका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले टोली खटाएर अध्ययनसमेत गरेको थियो । (रासस)
प्रतिक्रिया