बाल विवाहविरुद्ध साझा अभियान सञ्जालको संयोजकमा अधिकारी

कालिकोट । बाल विवाहविरुद्धको साझा अभियान सञ्जाल कालिकोटमा गठन गरिएको छ । कालिकोट जिल्लाका ३ वटा स्थानीय तहमा बाल विवाहविरुद्ध विभिन्न कार्य गर्ने, बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने जस्ता उद्देश्य साझा अभियान सञ्जालको रहेको छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीको अध्यक्षता तथा सञ्जालका केन्द्रीय सदस्य कृष्णराज धमालाको उपस्थितमा बाल विवाहविरुद्धको साझा अभियान सञ्जाल गठन भएको हो ।

सञ्जालको संयोजकमा हुरेन्डेक नेपाल कालिकोटका सदस्य खडानन्द अधिकारी, सह संयोजकमा किर्डाक नेपाल कालिकोटका तुलाराम पाण्डे, सदस्यमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट, भिडिसेफ नेपालबाट पुष्पराज भट्टराई, जिल्ला प्रहरी कार्यालय कालिकोटबाट विमला ओली, फेडो नेपाल कालिकोटका पद्मकला विश्वकर्मा, मानव अधिकार समूहबाट कपुरे विक, सादा नेपालबाट नमराज योगी, नागरिक समाजबाट कालीबहादुर मल्ल सञ्जालमा रहेका छन् ।

बाल विवाहविरुद्धको साझा अभियान सञ्जाल कालिकोटले जिल्लाका ३ वटा स्थानीय तह खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकालाई छनौट गरेको सञ्जालका संयोजक अधिकारीले बताए ।

सञ्जालका संयोजक अधिकारीले ३ पालिकामा बाल विवाहविरुद्धको अभियान सञ्चालन गरि बालविवाह न्युनिकरण तथा बालबालिकाको अधिकारका क्षेत्रमा कार्य गर्ने बताएका छन् ।

सञ्जालको पृष्ठभूमि, आगामी रणनीति, यसका काम, कर्तव्य र अधिकार तथा स्रोत प्रदेशमा बालविवाहविरुद्ध गरिएका नीतिगत व्यवस्था, बजेट र कार्यक्रमका बारे सञ्जालका केन्द्रीय सदस्य कृष्णराज धमालले अभिमुखीकरण समेत गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया