करार कर्मचारी र प्रहरीबीच झडप तीन घाइते

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारी र प्रहरी बिच झडप भएको छ । करार कर्मचारीहरुको म्याद थप नगर्ने गुराँस गाउँपालिकाको निर्णय विरुद्ध कर्मचारीहरु यति बेला आन्दोलित भएका छन् । गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँ सभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलित कर्मचारीहरुले शुक्रवार दिउँस १ बजेदेखि शान्तिपूर्ण आन्दोलन थालेका थिए । शान्ति पूर्ण आन्दोलनमा उत्रिएका कर्मचारीहरुमाथी प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर करार कर्मचारीको म्याद थप हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका तीन जना कर्मचारीहरु गम्भिर घाइते भएको बताईएको छ । गुराँस गाउँपालिका वडा नं.१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएको बताईएको छ ।

‘हामी आन्दोलित कर्मचारीको प्रतिनीधि र गाउँपालिकाका जनप्रतिनीधिहरु र प्रमुख प्रशासकीय अधिकृतबीच वार्ता भईरहेको थियो, भित्र वार्ता भईरहँदा हामीले बाहिर करार कर्मचारीको म्याद थप हुनुपर्ने मागसहित नारा लगाईरहेका थियौँ, त्यति नै बेला प्रहरीले लाठी चार्ज गर्यो, आन्दोलित कर्मचारी श्यामसुन्दर खड्काले भने । प्रहरीले लाठी चार्ज गर्न थालेपछि आन्दोलित कर्मचारीहरुले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए । आन्दोलित कर्मचारीहरुले प्रहरीमाथी ढुंगा प्रहार र प्रहरीले आन्दोलित कर्मचारीमाथी लाठी चार्ज गर्ने क्रममै प्रहरीले एक्कासी गोली चलाएको कर्मचारीहरुले बताएका छन् । उनिहरुले भागेर ज्यान जोगाएको बताएका छन् । घाइतेको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद शाहले घटनाको विवरण आईनसकेको बताए । गाउँपालिकाले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गते देखि नविकरण नहुने निर्णय गरेको थियो । यो निर्णयसँगै झण्डै साढे दुई सय कर्मचारीहरुको करार सम्झौता नविकरण नहुने बताईएको छ ।

प्रतिक्रिया