आयुर्वेद उपचारमा बढ्दो आकर्षण

दैलेख । आयुर्वेद स्वास्थ्य उपचार पद्धतिमा बढ्दो आकर्षण रहेको पाइएको छ । शनिबार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा आयुर्वेद सेवा कार्यक्रमसम्बन्धी गरेको वार्षिक समीक्षा गोष्ठीमा आयुर्वेदप्रति आमनागरिकको बढ्दो आकर्षण रहेको पाइएको हो ।

कार्यक्रममा तीन वर्षको तथ्यांक प्रस्तुत गरिएकोमा यो आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकका उपचार गर्नेको संख्या धेरै देखिएको छ । चालु आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखबाट ३ सय ४० जनाले ल्याब सेवा लिएको बताइन् । केन्द्रबाट १२ हजार ४ सय १२ जनाले साधारण उपचार, १ हजार २५ जनाले स्तनपायी, २ हजार २ सय ५३ जनाले ज्येष्ठ नागरिक सेवा पाएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डा.प्रज्ञा उपाध्यायले बताएकी छन् ।
उनले बताएको तत्थांकमा २ हजार १ सय ६६ जनाले पूर्वकर्म पञ्चकर्म सेवा, ३ सय ८७ जनाले उपचारात्मक योग सेवा, आठ जनाले क्षारसूत्र सेवा, ९ सय ६३ ले गाउँघर क्लिनिक, १ सय ५० जनाले कोभिड–१९ को सेवा र ९ सय ५२ जनाले स्वास्थ्यशिविरबाट सेवा लिएका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाको सात स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको छ । केन्द्रले आर्थिक वर्ष ०७७÷७८ मा चामुण्डाविन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाई गाउँपालिकामा आरोग्य सेवा विस्तार गरेको थियो । चालु आर्थिक वर्षमा डुंगेश्वर गाउँपालिका–२, ठाटीकाँध गाउँपालिका–१, आठबीस नगरपालिका–४ र गुराँस गाउँपालिका–५ मा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । दुल्लु र नारायण नगरपालिका तथा नौमुले गाउँपालिकामा आयुर्वेद औषधालय रहेको छन् दैलेखमा आयुर्वेद सेवा केन्द्र नभएको पालिका अब भैरवी गाउँपालिका मात्र हो आउँदो वर्ष भैरवीमा पनि सेवा केन्द्र खाल्ने लक्ष्य लिएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रले जिल्लामा पञ्चकर्म/पूर्वकर्म कार्यक्रम, नागरिक आरोग्य केन्द्र स्थापना तथा सञ्चालन, आयुर्वेद सेवा कार्यक्रमसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम, निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, प्रयोगशाला, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, स्वास्थ्य जीवन कार्यक्रम सञ्चालन गरिरहेको डा.उपाध्यायले बताइन् । उनकाअनुसार स्तनपायी आमालाई मातृशिशु सुरक्षा दूधवर्धक औषधि वितरण, जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वास्थ्यशिविर, जेष्ठनागरिक स्वास्थ्यप्रवर्धन कार्यक्रम विद्यालय आयुर्वेद तथा योग शिक्षालगायतका कार्यक्रम केन्द्रबाट सञ्चालित छन् ।

केन्द्रले जडीबुटीचुर्ण औषधि निर्माण भने गर्न सकेको छैन । आफ्नै भवन नहुँदा भाडाको घरमा बस्नुपरेको र मेसिन जडान गर्न नसकिएकोले औषधि निर्माण गर्न नसकिएको डा. उपाध्यायले बताइन् । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको काँडा चौरमा जग्गासहितको भवन छ । तर, उक्तठाउँमा नेपाली सेना बसिरहेको छ ।

चालु आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका लागि भवन निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । भवन निर्माणका लागि जग्गा नहुँदा उक्त रकम फ्रिज भएको डा. उपाध्यायको भनाइ छ । उनले भवन निर्माणको लागि जग्गा प्राप्तीको पहल भइरहेको बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही स्थानीय तहहरूले आयुर्वेद सेवालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले आयुर्वेद सेवालाई उपेक्षा गर्न नहुने बताए । अर्को प्रसंगमा उनले जनप्रतिनिधिहरूलाई आफू निर्वाचित भइसकेपछि अरू कोही होइनन् भन्ने मानसिकता त्याग्न आग्रह गरे ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माले स्थानीय तहहरूले आयुर्वेदलाई कम प्राथमिकता दिएको बताए ।

उनले आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका लागि भवन निर्माणका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताए । उनले नागरिक आरोग्य केन्द्रलाई वडा तहमा पुर्याएर पालिकास्तरमा आयुर्वेद औषधालय स्थापना गरिनुपर्ने बताए । कार्यक्रममा प्रदेश आयुर्वेद औषधालयका डा.यादवप्रसाद आचार्य, आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका प्रमुख रामप्रसाद महत्तो, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया