
कर्णाली । तातोपानी गाउँपालिका–१ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आएका छन् । उनी ०५५ सालमा घरबाट निस्किएका थिए । मंगलबार मात्र भारत हिमाञ्चल प्रदेश कुल्लु जिल्लाको मनाली भन्ने सहरमा भेटिएका वैदेशिक रोजगारका लागि कतार गएका उनका भाइ जगमुन सार्कीले जानकारी दिए ।
‘यतिका वर्षसम्म दाइ कहाँ हुनुहुन्थ्यो थाहा भएन’, जगमुनले भने, ‘कामका लागि भारतमा जानुभएको माइलो दाई (दले सार्की)ले भेटाउनुभएको छ । जेठो दाइ भेटिएको खबरले निकै प्रफुल्लित बनायो । हिजो नै दाइसँग भिडियो कलमै कुरा गरेर लामो समयसम्मको भ्रातृप्रेमको धित मेटाएँ ।’
घरमा श्रीमतीसँग भएको झगडाका कारण विरक्तिएर हिँडेका दलबहादुरलाई परिवारले लामो समयदेखि खोजी गर्दै आइरहेको थियो । दाजु घरबाट सम्पर्कविहीन भएपछि त्यसको लगत्तै भाउजुले नाबालक बच्चालाई छोडेर अर्कैसँग विवाह गरेको जगुमानले बताए । दलेको छोरा कृष्ण सार्की यतिबेला २५ वर्षको भइसकेका छन् । तर छोरालाई आफ्ना बाबा छन् भन्ने कुरा थाहा थिएन । कृष्ण यतिबेला घरमै छन् । गाउँका सबैले कृष्णलाई बाबा मरिसकेको कुरा सुनाउँथे । हुन पनि बाबाको अत्तोपत्तो थिएन । बाबा भेटिएको खबर सुनेका उनलाई कल्पनाभन्दा बाहिरको कुराजस्तो लागिरहेको छ ।
नाबालक अवस्थादेखि बाबा भन्न नपाएका कृष्णको आमाले अर्कैसँग विवाह गरेपछि आमाबाबा भएर पनि उनी टुहुराजस्तै भएका थिए । घरबाट हराएका दले लामो समयसम्म घर नफर्केपछि परिवारले पुनःमिलन हुने कुराको आश मारिसकेका थिए । कृष्णका अनुसार बाबा भेटिएको कुरा मनालीमा काम गर्न गएका माइला बाबा कले सार्कीले जानकारी दिएका थिए । त्यो खबरले अहिले उनको खुसीको सीमा छैन । कृष्णले बाबासँग फोनबाट कुरा गरेको बताए । उनले भने, ‘बाबासँग फोनमा कुरा गरेँ । मेरो बाबासँग बोल्न पाउँदा साँच्चिकै उहाँ स्वर्गबाट झरेजस्तो लागिरहेको छ । अब चाँडै नेपाल आउँछु ।’
कले सार्कीले काम गर्ने दौडानमा हिँडिरहेका बेलामा दाइ (दले)सँग भेट भएको बताए । ‘दाई मनालीमा भेटिए पनि उहाँ लद्दाख बस्नु हुँदोरहेछ’, कलेले भने, ‘व्यावसायिक लाइसेन्स बनाउन आउनुभएको रहेछ । सौभाग्यवशः मनालीमा भेट भयो ।’ भेट हुँदा सुरुमा उनले आफूलाई नचिनेको कलेले जनाए ।
दलेले गाउँ, समाज र परिवार सबैको याद आए पनि कामको सिलसिलाले बिर्सेजस्तो भएको अनुभूति सुनाए । ‘म ०५५ सालमा भारत छिरेँ । त्यतिबेला नेपालमा चरम द्वन्द्वको समय थियो । सहजै घर जानसक्ने अवस्था थिएन’, उनले भने, ‘पछिल्ला दिनमा कसैसँग भेटघाट र फोन सम्पर्क हुन सकेन । बस्दा बस्दा वर्षौं बितेको पनि पत्तै पाइनँ ।’
भाइका साथै छोरा कृष्णसँग कुरा भएको जनाउँदै उनले दुई/तीनपछि नेपालगञ्जसम्म गएर पुनः भारत फर्कने र दसैँको समयमा घरपरिवार भेट्न जुम्ला पुग्ने बताए ।
प्रतिक्रिया