काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियाे । बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ ।
निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । नगरपालिकाकाे मतदान सफल पार्न १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
सेनासहित चारवटै सुरक्षा निकायका गरी हरेक मतदान स्थलमा १/१ हजार सुरक्षाकर्मी परिचालन छन्, भने ५ सय जनाले नगरपालिकाका सबै स्थानमा गस्ति गरिरहेका छन् । मतदाता संख्या र सुरक्षाकर्मीको संख्या हेर्दा आठ मतदाता बराबर एक सुरक्षाकर्मी हुन् आउछ ।
१० मतदान स्थल र १९ मतदान केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यो नगरपालिकाको कुल मतदाता संख्या १२ हजार ६ सय ५९ जना छ । ‘निर्वाचनको दिन नगरपालिका क्षेत्रमा सार्वजनिक सवारी यातायात सञ्चालन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
एमाले र कांग्रेसका उम्मेदवार प्रतिस्पर्धी रहेको बुढीगंगामा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् । खाती महान्याधिवक्ता खम्मबहादुर खातीका दाजु हुनु र बानियाँ एमालेका प्रभावशाली नेता कर्ण थापाका नातेदार हुन् । खाती वडा न ४ का बासिन्दा हुन ।
यसअघि विभिन्न मतदानस्थलमा बुथ कब्जा तथा धाँधलीका घटनाहरू भएपछि लामो समयसम्म दुवै दलबीच पुनः मतदान या मतगणना भन्ने विवाद भएको थियो । एमालेले मतगणना हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले पुनः मतदानमा जोड दिएको थियो । एमालेले मतगणनाको माग गर्दै सर्वोच्च अदालतसम्म मुद्दा गरेको थियो ।
प्रतिक्रिया