सादा नेपालद्वारा तीन स्वास्थ्य चौकीको सामाजिक परिक्षण

कालिकोट । जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकामा रहेका तीनवटा स्वास्थ्य चौकीहरुको आम भेलामार्फत सामाजिक परीक्षण गरिएको छ ।

सान्नि त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) को सहजिकरणमा गाउँपालिकाभित्र रहेका रकु, मेहलमुडी र मुम्रा स्वास्थ्य चौकीको मंगलबार आम भेलामार्फत सामाजिक परिक्षण गरिएको हो ।

सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य चौकीबाट दिइने सेवा प्रवाहको अवस्था ,स्वास्थ्य चौकीबाट कुनकुन प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएको छ, स्वास्थ्य सेवाबाट नागरिकहरु सन्तुष्टि भए–नभएको बारेमा जानकारी गराउँदै स्वास्थ्य संस्थामा आएका समस्या तथा चुनौतिका बारेमा परीक्षण गरिएको सादा नेपालका सामाजिक परिचालक निलम गिरिले जानकारी दिइन् ।

शान्नि त्रिवेणी गाउँपालिका– २ का वडाध्यक्ष बसन्त बुढाको अध्यक्षतामा र पालिका स्वास्थ्य शाखा इन्चार्ज मिनबहादुर विष्टको प्रमुख आतिथ्यता, सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीको विशेष आतिथ्यतामा र स्थानीय सरोकारवालाहरुको उपस्थितिमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी रकुमा टोल–टोलबाट विरामीलाई स्वास्थ्य चौकीको पहुचमा लैजान स्टेचरको अभाव, तौलका लागि राखिएको मेसिनको समस्या भएको आम भेलामा सहभागिहरुले गुनासो गरे । सहभागिहरुको सुझावलाई मध्यनजर गर्दै वडा नं. २ मा रहेको स्वास्थ्य चौकीमा आएको समस्यालाई समाधान गर्न वडा सरकार तयार रहेको वडाध्यक्ष वसन्त बुढाले बताए ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख मिनबहादुर विष्टले स्वास्थ्य शाखामा बजेटको समस्या भएकाले पालिकामा रहेका स्वास्थय चौकीमा केही समस्याहरु आएकाले समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताए ।

सामाजिक परीक्षण कार्यक्रममा सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले पालिकामा रहेका स्वास्थ्य चौकीको कार्यालय व्यवस्थापनका लागि र आवस्यक स्वास्थ्य सामग्री खरिदमा गाउँपालीकाले पनि ध्यान दिनुपर्ने भन्दै रकु स्वास्थ्य चौकीमा विरामी बोक्नका लागि स्टेचरको अभाव भएकाले आफूले व्यक्तिगतरुपमा सहयोग गर्ने बताए ।

यस्तै सोमबार वडा नं ५ का वडाध्यक्ष रामराज बमको अध्यक्षतामा स्वास्थ्य चौकी मेहलमुडिमा सञ्चालन गरिको सामाजिक परिक्षण कार्यक्रममा सहभागिहरुले खानेपानि र स्टेचरको समस्या देखायका छन । स्वास्थय चौकिबाट पाउने अन्य सेवाहरु प्रभावकारी भयको सहभागिहरुले बताए ।

स्वास्थ्य चौकिको सामाजिक पक्षिणका लागि भयको आम भेलामा वडा अध्यक्ष रामराज बमले स्वास्थ्य चौकिबाट प्रदान गरिने, स्वास्थय सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो आवमा रु १ लाख रुपैयाँ बिनियोजन गरेको सादा नेपालका फिल्ड सुपरभाईजर केबल बहादुर बमले बताए ।

यस्तै स्वास्थ्य व्यवस्थापन समितिका सदस्य नन्दाराम बुढाको अध्यक्षतामा स्वास्थय चौकी मुम्राको आम भेलाबाट सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागिहरुले स्वास्थय चौकीबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको बताइएको छ ।

सो कार्यक्रममा स्थानीय अभिभावक, महिला, स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुको उपस्थिति रहेको त्यहाँबाट सादा नेपालका सामाजिक परिचालक मंगला उपाध्यायले जानकारी दिइन् ।

प्रतिक्रिया