बुढीगंगामा मतदान भोलि : आठ मतदाता, एक सुरक्षाकर्मी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार (भोलि) कडा सुरक्षाकाबीच पुनः स्थानीय तहको मतदान हुँदै छ । वैशाख ३० गतेको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न हुन नसकेको ठहर गर्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराउन लागेको हो । फितलो सुरक्षा व्यवस्थाका कारण धाँधली तथा बुथ कब्जा भएको बुढीगंगाका १० मध्ये ६ वटा मतदान स्थलमा स्वच्छ र स्वतन्त्र रूपमा मतदान हुन नसकेको भन्दै मतगणना स्थगीत गरिएको थियो ।

पुनः मतदानका लागि पालिकाभर एक हजार पाँचसय सुरक्षाकर्मी परिचालन गरिएका छन् । सेनासहित चारवटै सुरक्षा निकायका गरी हरेक मतदान स्थलमा १/१ हजार सुरक्षाकर्मी परिचालन छन्, भने ५ सय जनाले नगरपालिकाका सबै स्थानमा गस्ति गरिरहेका छन् । मतदाता संख्या र सुरक्षाकर्मीको संख्या हेर्दा आठ मतदाता बराबर एक सुरक्षाकर्मी हुन् आउछ । नेपाली सेनासहित चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित मतदान स्थलमा पुगिसकेकका छन् ।

१० मतदान स्थल र १९ मतदान केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यो नगरपालिकाको कुल मतदाता संख्या १२ हजार ६ सय ५९ जना छ । ‘निर्वाचनको दिन नगरपालिका क्षेत्रमा सार्वजनिक सवारी यातायात सञ्चालन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एमाले र कांग्रेसका उम्मेदवार प्रतिस्पर्धी रहेको बुढीगंगामा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् । खाती महान्याधिवक्ता खम्मबहादुर खातीका दाजु हुनु र बानियाँ एमालेका प्रभावशाली नेता कर्ण थापाका नातेदार हुन् । खाती वडा न ४ का बासिन्दा हुन ।

यसअघि विभिन्न मतदानस्थलमा बुथ कब्जा तथा धाँधलीका घटनाहरू भएपछि लामो समयसम्म दुवै दलबीच पुनः मतदान या मतगणना भन्ने विवाद भएको थियो । एमालेले मतगणना हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले पुनः मतदानमा जोड दिएको थियो । एमालेले मतगणनाको माग गर्दै सर्वोच्च अदालतसम्म मुद्दा गरेको थियो ।

प्रतिक्रिया