कहिले हुन्छ दोहोरीको फोहोर अन्त्य ?

काठमाडौं । भनिन्छ, ‘मौलिक गीत संगीत तथा हाम्रो पहिचान’ । कतिपय अग्रज कलाकारले यस विषयमा मौलिक हक अधिकार खोजेको पनि पाइन्छ । तर, केही लोककलाकारले मौलिकतालाई फिटिक्कै ध्यान दिएको पाइँदैन ।

गीति एल्बम होस् या प्रत्यक्ष (लाइभ) दोहोरीमा समेत छाडापन देखिन्छ । गीत प्रस्तुत गर्दा कस्ता शब्द प्रयोग गर्ने भन्ने विषयमा ध्यान दिनु अनिवार्य मानिन्छ । कतिपय कलाकार प्रत्यक्ष दोहोरी गीत गाउँदा एक अर्काप्रति आकर्षित भइ शब्दमा ध्यान दिएको पाइँदैन ।

केही दिनअघि लोकगायक इन्द्र जिसी, गायिका शिला आलेसमेत सहभागी भएको प्रत्यक्ष दोहोरीमा छाडापनको शब्द प्रस्तुत भयो । जहाँ गायक जिसीले उक्त शब्दमा गीत प्रस्तुत भइरहँदा मज्जाले ताली बजाउँदै मनोरञ्जन लिए । त्यो शब्द प्रस्तुत गर्ने नवगायिका तारा थापा हुन् ।

उक्त शब्द थियो ‘हेर्छु भन्दै खुब नजिक बन्छ बाइ, लुंगी माथि सार पो भन्छ बाई’ । गायिका थापाको प्रतिस्पर्धीको रुपमा थिए गायक सुमन परियार र बालचन्द्र बराल । गायिका थापा झण्डै एक वर्षअघि भएको ‘दोहोरी च्याम्पियन’ को प्रतिस्पर्धी हुन् ।

त्यस शब्द र त्यहाँ सहभागी कलाकारको अहिले सामाजिक सञ्जाल तथा फेसबुकमा आलोचना भइरहेको छ । विरोध–आलोचना गर्नेमा आमदर्शक स्रोतादेखि कलाकार नै बढी छन् । अग्रज कलाकारले समेत उक्त शब्दको विरोध जनाएका छन् ।

सामाजिक सञ्जालमा व्यापक आलोचना र विरोध भएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाउँदै सुझावको लागि पत्र काटेर उक्त कार्यक्रममा सहभागी कलाकार तथा केही अग्रज कलाकारलाई आइतबार (असार १९ गते) बैठक राख्यो ।

विकृति विसंगति न्यूनीकरणका संयोजक तथा प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा बैठक बस्यो । तर, छाडा शब्दको गीत प्रस्तुत भइरहँदा ताली बजाएर मनोरञ्जन लिएका गायक जिसी बैठकमा सहभागी भएनन् ।

उक्त बैठकमा केही कलाकारले सहभागिता जनाएर गल्तीको महशुस गर्दै अब–आइन्दा गीत प्रस्तुत गर्दा शब्दको ख्याल गर्ने प्रतिबद्धता जनाएको संयोजक हमालले जानकारी दिए ।

‘गीत प्रस्तुत गर्दै जाँदा नियतवश नभइ अचानक त्यस्तो शब्द प्रयोग भएछ, हामीले ध्यानाकर्षण जनाउँदै बैठक आह्वान गरियो र छलफल भयो,’ संयोजक हमालले भने, ‘उहाँहरुले गल्ती महशुस गर्दै आगामी दिनमा सजगता अपनाउने प्रतिबद्धता जनाउनुभएको छ ।’

साथै, उनले आ–आफ्नो कार्य व्यस्तताले दोहोरीमा सहभागी सम्पूर्ण कलाकार बैठकमा उपस्थित हुन नसकेको बताए । हमालले भने, ‘बैठकमा बोलाएका सबै आउनुभएन, कार्यव्यस्तताले सहभागी हुन नसकेको प्रतिक्रिया दिनुभएको छ ।’ गायक जिसी प्रतिष्ठानको कोषाध्यक्ष भइसकेका छन् । गायक कस्तुप पन्तले उक्त शब्दप्रति आपत्ति जनाएका छन् ।

गायक पन्तले टिकटकबाट आएको उक्त छोटो शब्द प्रयोग भएको भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी अग्रजले देखाएको बाटोमा छौं कि अनुजले देखाएको बाटोमा ? डलरले दोहोरीको कलर बिगार्न पाइँदैन अहिले नबोले कैले बोल्ने ?’

गायिका बानियाँले कहिलेकाहीँ गीतमा अचानक गलत शब्द प्रयोग भइहाले पनि युट्युब प्रयोगकर्ताले काटछाँट नगरी जस्ताको तस्तै अपलोड गर्न नहुने बताइन्

यसै विषयमा केन्द्रित रहेर गायक जिसीलाई सम्पर्क गर्दा केही विशेष कार्यक्रम हुँदा आफू उक्त बैठकमा सहभागी हुननसकेको बताए । उनले त्यस दोहोरीमा नियतवश अश्लिल शब्द प्रयोग नभइ अचानक पर्न गएको बताए । साथै, गायक जिसीले एउटा शब्द त्यहाँ प्रयोग हुँदा त्यसैको पछि लागेर खण्डन गरिरहन आवश्यक नरहेको जिकिर गरे ।

‘म त कार्यक्रममा सहभागी भएको मात्रै हो’, उनले भने, ‘गीत मैले गाएको हैन, न त शब्द मैले लेखेर दिएको हुँ, न सल्लाह नै, अनुज कलाकारले गाइहाले, शब्द त्यस्तो पर्नुमा म आफैं चकित छु ।’ गीत गाउँदै जाँदा भुलवश आएको केही शब्दप्रति अतिरञ्जित नगर्न जिसीले आग्रह गरे ।

‘शुभचिन्तकले दुःख मान्नु स्वभाविकै हो, तर भुलवश गीत गाउँदै जाँदा निस्केको शब्द हो,’ उनले भने, ‘अनुज भाइ–बहिनीले शब्द उच्चारण गरेछन्, त्यसलाई अतिरञ्जित गरिरहन मैले जरुरी ठान्दिन ।’ उक्त दोहोरीमा सहभागी लोकप्रिय गायिका शिला आलेले एक–दुई टुक्का शब्दको मात्रै पछि लागेर विरोधीले सामाजिक सञ्जालमा खेदो खनेको बताइन् ।

उनले गीत गाउँदै जाँदा अचानक फरक शब्द आउनुमा चामलमा बियाँजस्तै भएको प्रतिक्रिया दिइन् । साथै, आलेले दोहोरीको सुरुवात्देखि अन्तिमसम्मका सबै शब्द नियालेर त्यसभित्र के कस्ता शब्द छन्, अनि मात्रै गलत शब्दको व्याख्या गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘अचानक एक–दुई शब्द नराम्रो पर्न जाँदा त्यसैको मात्रै पछि लागेर खेदो खन्ने चलन हाम्रो समाजमा छ, सुरुवात्मा कुन शब्दबाट दोहोरी प्रस्तुत हुन्छ, त्यसैको आधारमा सवालजवाफ हुन्छ, सोहीअनुसार कहिलेकाहीँ अचानक त्यस्ता शब्द पर्न जान्छ ।’

गायिका आलेले सुरुदेखि अन्तिमसम्मका शब्द सुनेर दर्शकस्रोताले सुझाव दिनुपर्ने जिकिर गरिन् । उनले कलाकारले गीत प्रस्तुत गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने बताइन् । उनले अचानक त्यस्ता शब्द चयन भएमा बरु त्यसलाई क्यान्सिल गरेर अर्को भाग सुरुवात् गर्नुपर्नेमा त्यसो नभएको सुनाइन् ।

गायिका बबिता बानियाँ ‘जेरी’ ले कुनै पनि गीतमा अश्लिल शब्द प्रयोग हुनु कलाकारितामा दुर्घटना भएको बताइन् । कलाकार समाजको ऐना भएको उल्लेख गर्दै गायिका बानियाँले समाज रुपान्तरणमा कलाकारको भूमिका महत्वपूर्ण हुनुपर्ने विचार व्यक्त गरिन् ।

उनले कहिलेकाहीँ गीतमा अचानक गलत शब्द प्रयोग भइहाले पनि युट्युब प्रयोगकर्ताले काटछाँट नगरी जस्ताको तस्तै अपलोड गर्न नहुने बताइन् । पछिल्लो समय कतिपय युट्युब प्रयोगकर्ता डलरको प्रलोभनमा पर्दा कलाकारितामा घात भएको गायिका बानियाँले गुनासो गरिन् ।

‘कलाकार भनेको समाजको ऐना हो, कस्ता शब्दले समाजमा असर गर्छ र कुनले सचेतना फैलाउँछ भन्ने हेक्का राख्न आवश्यक छ’, उनले भनिन्, ‘डलरको खेती गर्नेले यस्ता उपाय खोज्दैनन्, त्यस्ताले गर्दा कलाकारितामा दुर्घटना हुँदै गएको छ ।’

प्रत्यक्ष दोहोरीमा फोहोर शब्द यो त एक उदाहरण मात्रै हो । यसभन्दा अघिबाट पनि कतिपय फोहोर शब्दमा कतिपय कलाकारले गीत गाउँदै आएका छन् ।

संगीत विकास बोर्डको त्यो माग

आजभन्दा करिब ८ वर्ष अगाडि दर्शकस्रोता नेपालले संगीत विकास वोर्ड गठन गर्न माग गर्दै एकमहिने दबाबमूलक हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । गीत संगीत छाडा हुनुहुँदैन र असल गीत एवं सर्जकले उचित सम्मान तथा स्थान पाउनुुपर्छ भन्दै दर्शकस्रोता नेपालले एकमहिने अभियान नै गरेको थियो ।

तत्कालिन समय संगीत विकास वोर्ड गठनको गर्न माग गर्दै एकमहिने अभियानअन्तर्गत हस्ताक्षर संकलन गरिँदैको फाइल तस्विर

संस्थाका तत्कालीन अध्यक्ष केशव भट्टले सो अभियान कुनै व्यक्तिगत स्वार्थको लागि नभई समग्र नेपाली गीत संगीत तथा सर्जक स्रष्टाको हित होस् भनेर गरिएको बताए ।

उनले भने, ‘हामीले सबै संघसंस्थालाई अभियानमा सघाउनुस्, सहकार्य गरौँ भन्दै पत्र दिएका थियौँ, तर कुनै पनि कलाकारले वास्ता गरेनन्, न त संघसंस्थाले गरे, हामी आफैंले एक महिना लामो समयसम्म काठमाडौंका ३१ वटा चोकमा कार्यक्रम गरेर हजारौँ हस्ताक्षर संकलन गर्यौँ र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझायौँ ।’

हस्ताक्षर बुझाउँदा मन्त्रालयका तत्कालीन सचिव पे्रम राईले प्रक्रिया अगाडि बढाउने बताए पनि कुनै प्रक्रिया अगाडि नबढेको भट्टले सुनाए । अधिकार सम्पन्न संगीत विकास वोर्ड गठन गर्ने हो भने गीत संगीतमा राम्रा कलाकारले केही हदसम्म न्याय पाउने उनले बताए ।

अबको भविष्य भनेको संगीत तथा सांस्कृतिक पर्यटनको हो । त्यसकारण यो क्षेत्र व्यवस्थापन गर्न जरुरी रहेको भट्टको भनाइ छ् । उनले भने, ‘मौलिक गीत संगीतलाई संरक्षण गर्न तथा लोप हुनबाट बचाउन सरकार अग्रसर नभइ अरुले जति कराए पनि नहुने प्रष्ट छ ।’ त्यसमा संघसंस्थाको पनि अहम् भूमिका हुनुपर्ने उनले जोड दिए ।

तत्कालिन समय संगीत विकास वोर्ड गठनको गर्न माग गर्दै एकमहिने हस्ताक्षर संकलन गरेर बुझाउँदै

प्रतिक्रिया