विनोद शाही मृत्यु प्रकरण : सदरमुकाम तनाव ग्रस्त

अछाम । पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनका कारण अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् ।

ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी आएका छन् ।

१७ वैशाखमा बेपत्ता भएका शाही २१ असार बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै परिवारले नगरपालिकाका मेयर, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष, जिल्ला समन्वय समितिकी उपसंयोजक, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका एक व्यक्ति उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

यस्तै अन्य १३ जनाविरुद्ध पनि मृतकका दाजु डम्बर शाहीले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन् । मेयरसहित सात जना घटनामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् । उक्त मुद्दामा प्रहरीले मेयरसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ । बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

अछामका पाँच राजनीतिक दलहरूले विज्ञप्ती निकाल्दै विनोदको हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै बन्दको आयोजना गरेका छन् । एमाले अछाम जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका आमन्त्रित प्रदेश कमिटी सचिव शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राप्रकाका जिल्ला सदस्य दीपक विष्ट र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लोकेन्द्रबहादुर शाहीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा दुई दिने यातायात बन्दको आयोजना गरिएको हो ।

प्रतिक्रिया