तातोपानीमा अलपत्र मल चाँडै उठाउछौं : कृषि मन्त्री

राष्ट्रिय धान दिवस

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव । तस्बिर : रासस

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादबले तातोपानी नाकामा अलपत्र परेको मल चाँडै उठाउन आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिएका छन् । धानवालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग नाराका साथ असार १५ राष्ट्रिय धान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादबले तातोपानी नाकामा अलपत्र परेको मल उठाउने बिषयमा तयारी सुरु गरिएको जानकारी दिए । मन्त्री यादलले खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद(नार्क)को हातामा आयोजित धान रोपाई कार्यक्रममा सहभागी भएर मेसिनको सहयोगमा धान रोपाईसमेत गरेका थिए ।
‘ठेक्का कवोल गर्ने ठेक्केदारले म्याद नाघिसकेको अवस्थामा तोकिएको परिमाणभन्दा थोरै परिमाणमा तातोपानी नाकामा युरिया मल ल्याएका छन्,’ मन्त्री यादवले भने,‘पाटन उच्च अदालतले उक्त आइसकेको मलको स्वामित्व लिन र ढिलो गरि मल ल्याएको ठेक्केदारको रद्द गरिएको ठेक्का पनि रद्द नगर्न आदेश दिएकाले आइपुगेको मल चाँडै नै आवश्यक प्रक्रिया पुरा गरि ल्याउँछौं ।’
निर्धारित समयभन्दा झण्डै ४० दिन ढिलो गरि आयात भएको ५ सय टन युरिया मल ५३ दिनदेखि तातोपानी भन्सारमा अलपत्र अवस्थामा छ । सिल्क, सिनोम्याक, ग्लोबल म्याटिक्स र विद्य जेभी संयुक्त रूपमा २५ हजार टन युरिया मल आयात गर्ने भनेर २०७८ मंसिर ८ मा ठेक्का कबोल गरेको थियो । यो संयुक्त कम्पनीले १ करोड ६५ लाख २५ हजार अमेरिकी डलरमा २५ हजार टन युरिया मल ०७८ चैत १५ गते कृषि सामग्रीलाई उपलब्ध गराउने सम्झौता गरेको थियो । ठेक्का कबोल गरेको यो संयुक्त कम्पनीले २५ वैशाखमा कबोल परिमाणमध्ये पाँच सय टन युरिया तातोपानी नाकामा भित्र्याएको थियो ।

मन्त्री यादवले रासायनिक मल अभाव हुनुमा ठेक्केदार दोषी रहेको बताएका छन् । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्नुपर्ने वेला आइपुगेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य क्रमिक रुपमा बढ्दै जानु र ठेक्केदार कम्पनीले कवोल गरेको अंकमा ल्याउन नसक्नुले अहिले मलको अभाव देखिएको बताए । मन्त्री यादबले भारतबाट चाँडै नै जीटुजी प्रक्रियामार्फत १५ हजार टन यूरिया उपलब्ध गराउन सहमति जनाएको जानकारी दिएका छन ।

उनकाअनुसार स्वदेशमै मलको कारखाना र नेपाल आयल निगमले भारतबाट जुन प्रक्रियाअन्तर्गत इन्धन आयात गरिरहेको छ, त्यही प्रक्रियाअनुसार मल पनि आयात गर्दा सधैको लागि मलको समस्या समाधान हुने दाबी गरे । नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का कार्यकारी निर्देशक दिपक भण्डारीले जनसंख्या बृद्धि हुँदै गएको र खेतियोग्य क्षेत्रफल घट्दै गएको अवस्थामा प्रमुख खाद्यान्न धानको उत्पादन बृद्धि गर्न ठूलो चुनौति सिर्जना भएको बताए । भण्डारीले सर्वसाधारणले बढि रुचाउने जातको धान उत्पादन गर्नुका साथै हाइव्रीड र चैते धानको उत्पादन बृद्धि गर्नुपर्ने आवश्यकता औल्याए । भण्डारीले पछिल्लो २८ बर्षको अवधीमा धान लगाउने क्षेत्रफल ३ गुनाले र उत्पादन ६० प्रतिशतले बृद्धि भएको दाबी गरे ।

मल, सिंचाई, उन्नत बीउ बिना उत्पादन बृद्धि गर्न नसकिने उनले बताए । बर्खे धानको क्षेत्रफल बृद्धि गर्न नसकिने जानकारी गराउदै कृषि मन्त्रालयका सचिब डा. गोविन्द शर्माले उत्पादन बृद्धि गर्न चैते धानको क्षेत्रफल विस्तार र हाइब्रीड जातको बीउ प्रयोग गर्नुपर्ने बताए । यसका लागि पर्याप्त परिमाणमा सिंचाई र मल आवश्यक पर्छ । यसबाहेक चक्लावन्दी र सामुहिक खेती प्रणालीबाट पनि पर्याप्त परिमाणमा धानको उत्पादन लिन सकिने उनको भनाई थियो ।

सचिब शर्माले तराईमा खण्डीकरण बढ्दै गएको र पहाडमा खेति गर्न छाडिएकाले खाद्य सुरक्षाको समस्या निम्तिदै गएको बताए । सचिब शर्माले सरकारले हरसम्भव प्रयास गरेपनि समयमा पर्याप्त परिमाण मल भित्र्याउन नसकिएको लाचारीपन व्यक्त गरेका थिए ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमलाल दंगालले सरकारले लिएको नीति सफल हुन नसक्ने जानकारी दिए ।

मलको चर्को अभाव भइरहेको अवस्थामा सरकारले आगामी आर्थिक बर्षमा ३० प्रतिशतले आयात प्रतिस्थापन गर्ने लिएको नीति व्यवहारिक नहुने जानकारी दिए । दंगालले तत्कालै मल उपलब्ध गराउन मन्त्री यादबसँग आग्रह गरेका थिए । असार १२ गतेसम्म देशभर १७ प्रतिशत धान रोपाई भएको जानकारी दिइएको छ ।

धान दिवसको अवसरमा नेकपा एमालेको किसान संगठन अखिल नेपाल किसान महासंघलगायत विभिन्न संस्थाहरुले धान रोपाई कार्यक्रमको आयोजना गरेका थिए ।

खाद्य संकट निम्तिने खतरा


राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ्गले रुस –युक्रेनको युद्धको प्रभाव विश्वभर परिरहेको अवस्थामा नेपालमा पनि खाद्य संकट निम्तन सक्ने आशंका व्यक्त गरेका छन् । ‘विश्वभर अहिले खाद्य संकटको समस्या निम्त्न थालेको छ,’ गुरुङ्गले भने,‘हाम्रो मुलुकमा पनि खाद्य असुरक्षा र खाद्य संकट निम्तिने केही संकेतहरु प्राप्त हुन थालेको छ, हामी सबै अहिलेदेखि नै सहज रहनुपर्ने अवस्था सिर्जना भएको छ ।’

समयमै रसायनिक मल उपलब्ध नभएका कारण अवस्था झन नाजुक बन्दै गएको बताउँदै गुरुङ्गले आगामी दिनमा खाद्य असुरक्षाको समस्या र घरपरिबारसम्म खाद्य संकटको अवस्था कस्तो आउन सक्छ भनेर विश्व खाद्य कार्यक्रम र बल्र्ड फुड अर्गानाइजेसनसँग मिलेर यो बिषयमा अध्ययन गर्ने काम सुरु गरिएको जानकारी दिए । डा. गुरुङ्गले उत्पादन बृद्धि गर्नुको बिकल्प नभएको बताए ।

प्रतिक्रिया