कृषकको खेतमै मनाइयो १९औँ धानदिवस

दैलेख । दैलेखमा १९औँ धानदिवस भव्यताका साथ मनाइएको छ । जिल्लाको नारायण नगरपालिका–४ सोतमा १९औँ राष्ट्रिय धानदिवस तथा रोपाइँ महोत्सव २०७९ मनाइएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नारासहित देशैभर १९आँै धानदिवस तथा रोपाइँ महोत्सव सम्पन्न गरिएको छ ।

कृषि विकास कार्यालय दैलेखको आयोजनामा असार १५ गते बुधबार नारायण नगरपालिका–४ सोतमा रहेका कृषकको खेतबारीमा नै पुगी धानदिवस तथा रोपाइँ महोत्सव गरेको जनाएको छ । कृषकलाई कृषिप्रति आकर्षित गर्न, धान उत्पादनमा वृद्धि ल्याउन रोपाइँ महोत्सव गरिएको हो । बुधबार स्थानीय पञ्चेबाजाको साथमा सामूहिक रूपमा धान रोपाइँ हेर्नेको उत्साहजनक सहभागिता रहेको थियो । कृषकले अझै पनि पुरानै प्रविधिबाट खेतीगर्ने, पुरानो बिउवीजनको प्रयोग गरेर धान रोपाइँ गर्ने चलन कायमै रहेकाले आधुनिक प्रविधिबाट खेती गरी आर्थिक समृद्धि बढाउन धानदिवस तथा रोपाइँ महोत्सव कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र थापाले जानकारी दिए । उनले कार्यक्रमको बारेमा बोल्दै धानदिवस मनाउनुको महत्व, धानको विकास क्रम तथा नेपालमा लगाउने धानको बारेमा प्रस्ट्याएका थिए ।

सृजनशील कृषक समूहका सदस्य कर्णबहादुर कठयताको अध्यक्षतामा भएको १९आँै धानदिवस तथा रोपाइँ महोत्सव २०७९ को उद्घाटन प्रतिनिधिसभा सदस्य माननीय रवीन्द्रराज शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै माननीय शर्माले नेपाली नागरिकको जीवनस्तर उकास्नका लागि नयाँनयाँ अभ्यासहरू गर्दै जनताको जीवनस्तर बदल्ने कुरालाई हामीले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘राजनीतिक परिवर्तन हुन्छन् अरू परिवर्तन हुन्छन् तर किसानले दुई छाक खानाको लागि समस्या झेल्नुपर्ने अवस्था अहिले पनि रहेको भन्दै यस्ता अवस्थालाई बदल्नको लागि हामीले अनेक खालका प्रक्रिया अगाडि बढाएका छौँ यसमा सबैको साथ सहयोगको आवश्यकता रहेको छ । हामी सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, निजामति कर्मचारीलगायत सबैले आफ्नो घरमा रहेको खेतबारी बाँझो नराखी उत्पादन हुने खेतीलगाउनतर्फ ध्यान जानुपर्छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले हामी जति शिक्षित भए पनि कृषि नगरी नहुने भए तापनि कतिपय कुराहरू कार्यक्रममा मात्र सीमित भएकाले कार्यक्रमलाई मात्र प्राथमिकता नदिई व्यावहारिक रूपमै हामी काम गर्ने वातावरण बनाउन सक्छौँ भन्ने उदाहरण दिन अग्रसर हुनुपर्ने बताए । ‘कार्यक्रम गर्दा पनि स्थानीय तह र अन्य कार्यालयमा समन्वयको अभाव देखियो आउँदा दिनहरूमा यस्तो नगर्न आग्रह छ’, उनले भने ।

कार्यक्रमको समापनमा बोल्दै कर्णबहादुर कठयताले रोपाइँ महोत्सवको लागि यो ठाउँ छानेर कार्यक्रम गरेकोमा कृषि विकास कार्यालयलाई धन्यवाद दिए । कृषकका खेतबारीमै आएर रोपाइँ महत्व गर्ने भएकोमा हामी खुसी छाँै । यसरी आएर कार्यक्रम गरिदिँदा कृषकलाई पनि हौसला बढ्छ ।
दैलेखका प्रायः पालिकाहरूमा बुधबार धानदिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले असार १५ धान दिवसको अवसरमा कर्णालीका नौ जिल्लामा बिदा दिने गरेको छ ।

प्रतिक्रिया