विकल्प खोज्न बहुमत न्यायाधीशको राय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा अदालती फैसला

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कि त्यसको विकल्प खोज्ने भन्ने सम्बन्धमा न्यायाधीशहरुको राय बाझिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रायमा विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहमत हुँदा हरिकृष्ण कार्कीको रायमा डा. मनोजकुमार शर्मा सहमत भएका छन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको अन्य कुनै स्थानमा पनि बनाउन सम्भव छ कि भन्ने रायमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहमत छन् भने सोही स्थानमै थोरै मात्रै बन फँडानी गरी न्युनतम क्षति बेहोर्ने गरी बनाउन उपयुक्त हुने वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीको रायमा न्यायाधीश मनोजकुमार शर्मा सहमत भएका छन् । यद्यपि तीन सदस्य सहमत भएको रायलाई नै बहुमत राय मानिँदै फैसला मानिने भएकाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रायलाई फैसलाको अंशको रुपमा लिइएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा सम्मिलित तीन सदस्य रहेका न्यायाधीशहरूले पुनः अध्ययन गरी निजगढकै विकल्प दिन सकिने अवस्था रहे विकल्प दिनसमेत भनेका छन् । खतिवडाको रायमा हवाई उडानको आर्थिक तथा प्राविधिक सम्भाव्यता समेतका कुराहरु सम्बन्धमा वातावरण, वन, वन्यजन्तु, हवाई उडान व्यवस्थापन, अर्थशास्त्री, समाजशास्त्री, प्रशासनविद् लगायत सम्बन्धित विषयगत विज्ञता भएका आवश्यक संख््याका तटस्थ, निष्पक्ष, तथा दक्ष विषय–विज्ञहरुको समूहबाट उपलव्ध विकल्पहरु सहित वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गर्ने उपाय पहिल्याई; विमानस्थल निर्माण गर्ने स्थलको उपयुक्त सम्बन्धमा वस्तुगत र तार्किक रुपमा एकीन गरी; छनौट गरिएको स्थानको वातावरण प्रभाव मूल्यांकन कानूनी विधि र प्रकृया अनुसार गराई; विज्ञ समूहबाट राय ठहर सहितको प्रतिवेदन लिई विमानस्थल निर्माण गर्न भनेका छन् ।
स्पष्टरुपमा निजगढको विकल्प खोज्न नभनिए पनि अर्को स्थानमा यस्तै प्रकृतिको विमानस्थल बनाउन सम्भव भएमा त्यसका बारेमा पनि सोच्न सरकारका नाममा परमादेश दिएका छन् । यसअघिका चारकिल्ला तोक्ने, क्षेत्रफल तोक्ने लगायतका निर्णय बदर गर्दै सोही स्थानमा बनाउने भएपनि पुनः अध्ययन गर्न परमादेश दिएको छ ।

यस्तो छ अल्पमत पक्षको पाँच बुँदे राय

क) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि छनौट भएको बारा जिल्लाको निजगढको प्रस्तावित निर्माणस्थलभन्दा दक्षिणतर्फको सरकारी स्वामित्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरू समेतलाई जोडेर वा सो आसपासको वनक्षेत्र कम भएको अन्य स्थान, टाँगिया बस्ती रहेको क्षेत्र वा सोही इलाकाको अन्य उपयुक्त स्थानसमेतको सम्भाव्यता अध्ययन गरी विमानस्थलको आधारभूत संरचनाका लागि आवश्यक हुने क्षेत्रफल बराबरको जमीनको पहिचान गरी हाल कायम रहेको वनलाई सम्भव भएसम्म यथावत् रूपमा कायमै राख्नेतर्फ पहिलो प्राथमिकता दिई अध्ययन गर्नू गराउनू ।

ख) उल्लिखित विकल्प अनुसारको क्षेत्रमा प्राविधिक वा अन्य कारणबाट विमानस्थल निर्माणको लागि उपयुक्त हुने नदेखिएमा हाल प्रस्तावित क्षेत्रमा विमानस्थलको लागि चाहिने क्षेत्रफल यकिन गरी पुनः कानूनबमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन गरी विमानस्थलको निर्माणको लागि नभई नहुने आधारभूत संरचना निर्माणका लागि न्यूनतम् वनक्षेत्रको जग्गा मात्र समावेश हुने गरी निर्माणस्थल कायम गर्नू गराउनू ।

ग) विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने पर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आस्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नू ।

घ) विमानस्थल निर्माणका लागि रूख बिरुवा काट्नु पर्ने अवस्था देखिएमा वनक्षेत्रभित्रका काटिएका रुखहरूको परिपूर्णको लागि स्थान पहिचान गरी प्रचलित कानूनबमोजिम र तोकिएको मापदण्ड अनुरूप नयाँ रूख विरूवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवस्था गर्नू ।

ङ) विमानस्थल निर्माणको क्रममा प्रस्तावित विमानस्थल शहरको स्थापना तथा विस्तारका लागि वनक्षेत्रको प्रयोग नगर्नू नगराउनु ।

प्रतिक्रिया