सादा नेपालद्वारा बाख्रा र खुद्रा सामान सहयोग

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालद्वारा विपन्न परिवारका तीन जनालाई बाख्रा र खुद्रा सामान सहयोग गरेको छ ।

सादा नेपालद्वारा सञ्चालित बाल प्रत्याभुत सञ्चार व्यवस्थापन कार्यक्रमअन्तर्गत विपन्न समुदायको जिविकोपार्जन सुधारका लागि भन्दै एस. सि बालवालिकाका २ जना अभिभाबकलाई बाख्रा र १ जनालाई खुद्रा सामान मंगलबार नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

नरहरिनाथ गाउँपालिका– २ की निशा विकलाई ७ बाख्रा, वडा नम्बर ३ का प्रेम विकलाई ८ बाख्रा र वडा नम्बर ४ का लालबहादुर सहकारीलाई खुद्रा सामान गाउँपालिकाको रोहवरमा हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले विपन्न तथा गरिब परिवारभित्र जन्मिएका स्पोन्सरसिप बालबालिकाहरुको जिवनस्तर सुधारका लागि भन्दै उनीहरुको अभिभावकलाई बाख्रा र खुद्रा सामान सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै तथा सहयोग सामग्री प्राप्त गर्ने व्यक्तिहरुलाई इमान्दारीता र लगनशिलताको आधारमा व्यवसायमा लाग्न आग्रह गरे ।

संस्थाले गाउँपालिकाको रोहवरमा ठूलो सहयोग गरेको हो । उक्त सहयोगले आफ्नो परिवारको जिवनशैलिमा सुधार ल्याउने गरेर व्यवसायलाई फस्टाउन उनले आग्रह गरे । यस्तै सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले बालबालिका, शिक्षा, स्वास्थयलगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

विगत ३ वर्षदेखि प्लान इन्टरनेशनल नेपालको सहयोगमा रास्कोट नगरपालीका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालबालिको क्षेत्र, लैंगिक भेदभाव न्यूनिकरणको क्षेत्रमा काम गर्दै हरेक नागरिकलाई जवाफदेही र शुसुचित पार्ने काम गरेको छ ।

यस्तै स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ३ वटै पालिकाका ४ हजारभन्दा बढी अति विपन्न, अपांगता भएका स्पोन्सरसिप बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री, बिरामी भएपछि मेडिकल सामग्री र खेल सामग्री पनि सहयोग गर्दै आएको योगीले बताए ।

सहयोग पाएपछि निशा विकले खुसी हुँदै भनिन्, ‘हामी व्यवसायिक बन्न चाहन्थ्यौँ, तर आयस्रोत जुटाउन सकेनौँ, घरमा एक अपांग छोरी छ, घर खर्च जुटाउन धौधौ थियो, तर आज सादा नेपालले यति धेरै ठूलो सहयोग गरेपछि अभिभावक पाएको महसुस भएको छ ।’

उक्त बाख्रा पालन व्यवसायलाई निरन्तर अगाडि बढाउने र यसैबाट भएको आम्दानीले घर खर्च र छोरीको पालनपोषण तथा पढाइमा ध्यान दिने विकले बताइन् ।

स्पोन्सरसिप बालबालिकाभित्रकै सबैभन्दा कम्जोर अवस्था भएको परिवारहरुको आयआर्जनमा वृद्धि ल्याउन सादा नेपालले बाख्रा र खुद्रा सामान सहयोग गर्ने गरेको सादा नेपालका स्पोन्सर अफिसर पदमबहादुर विष्टले बताए । नरहरीनाथ गाउँपालिकामा ३ जना, शान्नि त्रिवेणी गाउँपालिकामा १ जना र रास्कोट नगरपालीमा १ जना गरि ४ जनालाई बाख्रा र १ जनालाई खुद्रा सामान सहयोग गरेको विष्टले बताए ।

उक्त कार्यक्रममा नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाह, वडा नम्बर २ का वडाध्यक्ष प्रेमबहादुर विष्ट, वडा नम्बर ३ का अध्यक्ष कटकबहादुर बुढा र ४ का वडाध्यक्ष नन्दाराम सहकारीलगायतको उपस्थिती रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया