‘प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छ’

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्ने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्मरकट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमाभित्र रहेर काम गर्दा कतिपय सन्तुलन नमिलेको हुनसक्ने कुरालाई स्वीकार गर्दै त्यस्ता कमजोरी सच्याएर जान सकिने बताए ।

मन्त्री जम्मरकट्टेलले सरकारले बदनियत राखेर कसैलाई पनि कर छुट दिने निर्णय नगरेको बताए । आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का प्रमुख सचेतक दीपक निरौलाले सरकारले प्रतिपक्षीले उठाएका सबै विषय सम्बोधन हुन नसकेको बताए । सरकारले सिमेन्ट उद्योगलाई अनावश्यक रूपमा कर छुट दिने निर्णय गरेको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

सिमेन्ट उद्योगको करसम्बन्धी कुरा अदालतमा विचाराधीन रहेकोले अदालतमा विचाराधीन विषयवस्तुलाई प्रभावित पार्नेगरी सरकारले हस्तक्षेप गर्नु अनुचित नहुने उनको भनाइ छ । उनले बजेटलाई समावेशी र समानुपातिक बनाउन कस्तो पहल गरिने हो स्पष्ट पार्न अनुरोध गरे ।
अर्थमन्त्रीको जवाफमा प्रतिपक्षी एमालेले पूर्ण विश्वास गर्न नसकिने बताएपछि प्रदेशसभामा पुन जवाफ दिँदै मन्त्री जम्मरकट्टेलले बजेटलाई समावेशी र समानुपातिक बनाउन तथा प्रतिपक्षीको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रतिपक्षीको माग सम्बोधन हुने भएपछि एमालेले संसद् बैठक सुचारु गर्न दिने भएको छ ।

प्रतिक्रिया