शिवराज र जयरानी सर्वोत्कृष्ट

आर्मी टिम च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लब ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’ मा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मी क्लबले १८ स्वर्ण, १२ रजत र पाँचवटा कांश्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब नौ स्वर्ण, ६ रजत र आठवटा कांश्य पदकसहित दोस्रो भयो । तेस्रो स्थानमा रहेको बागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ वटा कांश्य पदक हात पा¥यो ।

कुल ३२ वटा स्वर्ण पदकका लागि भएको उक्त प्रतियोगितामा बाँकी दुई स्वर्ण नेपाल पुलिस क्लबले जित्यो । पुलिस क्लबले तीन रजत र चारवटा कांश्य पदक पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लबका शिवराज पार्की र महिलातर्फ आर्मी क्लबकी जयरानी थारु सर्वोत्कृष्ट खेलाडी घोषित भए । शिवराजले तीन स्वर्ण र एक रजत पदक जिते । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण पदक जितिन् ।

जयरानीको नाममा थप एक रजत पदक पनि हात पारिन् । उनले एक सय र चार सय मिटर हर्डल्समा नयाँ कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान आर्मी क्लबका जीवन थारुले पुरुष एक सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र दुई रजत पदक हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

एपीएफ क्लबका गोपीचन्द्र पार्की र बागमति प्रदेशकी सन्तोषी श्रेष्ठले पनि स्वर्ण पदक जिते । गोपी र सन्तोषी तीन हजार मिटर दौडमा च्याम्पियन बनेका हुन् । पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी पहिलो भएका हुन् ।
गोपीले निर्धारित दुरी आठ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उक्त स्पर्धामा आर्मी क्लबका मुकेश पाल दोस्रो भए । उनले निर्धारित दुरी पुरा गन आठ मिनेट ३० सेकेन्ड समय खर्चिए । आर्मी क्लबकै दीपक अधिकारीले कांस्य पदक जिते । उनले निर्धारित दुरी आठ मिनेट ३८ सेकेन्डमा पार गरे ।
महिलातर्फ सन्तोषीले निर्धारित दुरी १० मिनेट ०६.७ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पारिन् । यसअघि सन्तोषीले १५ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी थिइन् । पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितिन् । उनले निर्धारित दुरी १० मिनेट ०८.४ सेकेन्डमा पार गरिन् । कर्णाली प्रदेशकी राममाया बुढाले काश्य पदक जितिन् । उनले निर्धारित दुरी १० मिनेट ४१.९ सेकेन्डमा पार गरिन् ।
प्रतियोगिताका विजयी टोली र खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले पुरस्कार वितरण गरे । तीनदिने उक्त प्रतियोगितामा दुई सय ४० जना खेलाडीको सहभागिता रहेको जानकारी आयोजक संघका सचिव आरके विष्टले दिए ।

प्रतिक्रिया