बैतडीमा ‘क्यास लेस’सेवा सुरु

बैतडी । बैतडीमा पहिलोपटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु भएको छ । ‘क्यास लेस’ को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए ।

यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तहसमेत दशरथचन्द बनेको छ । उनले भने, ‘विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि अब सेवाग्राहीलाई समेत सजिलो हुन्छ । चेकमार्फत कारोबार झन्झिटलो हुँदै आएकोमा अब त्यसो हुने छैन् ।’ अब नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधैँ भुक्तानी लिनेको खातामा जम्मा हुने जनाइएको छ । महालेखा नियन्त्रक कार्यालयले आगामी १ साउनदेखि सबै स्थानीय तहहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा दशरथचन्दले असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो ।

सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखापाललाई तीन दिने तालिमसमेत दिएको थियो । विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको लेखा अधिकृत उद्धवदेव भट्टले बताए ।
उनले भने, ‘विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीले सेवा सहजताका साथै सुशासन कायम गर्न सहयोग मिल्छ । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ ।’

विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने दशरथचन्द नगरपालिका प्रमुख पुस्करराज जोशीले बताए । छिटोछरितो, भरपर्दो र विश्वनीय लेखांकन र प्रतिवेदनका लागि सुत्रको महत्वपूर्ण योगदान रहेको जोशीको भनाइ छ । उनले भने, ‘सुत्र प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्नेछ । चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरी कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिनेछ ।’

प्रतिक्रिया