गगनका उम्मेदवार पराजित, विश्वप्रकाशका विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ नेतृत्व पाएको छ । नेपाली काँग्रेसको राजनीतिक पृष्ठभूमि भएका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच मुख्य प्रतिस्पर्धा भएको थियो । जसमा शेर्पालाई ६ मतान्तरले हराउँदै नेम्वाङले एन्फा नेतृत्वमा बाजी मारे । शेर्पा काँग्रेसका महामन्त्री गगन थापा र नेम्वाङ काँग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्मा निकट हुन् । एन्फा चुनावमा शेर्पालाई थापाको सदभाव थियो । शेर्पाका लागि थापाले खुलेर भोट मागेका थिए । महामन्त्री थापाले कोरोना महामारीको समयमा पनि एन्फालाई चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै एन्फा निर्वाचनमा शेर्पालाई जिताउन भन्दै फेसबुकमार्फत मत मागिदिएका थिए ।

शेर्पालाई थापाले आन्तरिक रुपमा सहयोग पनि गरे । उनको सचिवालय नै शेर्पालाई जिताउन खुलेर लागेको थिए । यता काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने झापाका नेम्वाङलाई जिताउन लागि परेका थिए । उनले झापामा आयोजित एक कार्यक्रममा नेम्वाङका लागि भोट समेत मागेका थिए ।

नेम्वाङ काँग्रेसका पूर्व केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङका छोरा हुन् । विश्वप्रकाश शर्मा र नेम्वाङ झापाको निर्वाचन क्षेत्र नं १ का बासिन्दा हुन् । त्यसैको हिसावले पनि शर्माले उनलाई सहयोग गरेका हुन् । शर्माको प्यानलबाट उनी काँग्रेसको १४ औं महाधिवेशनमा झापा –१ बाट खुला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

नेम्वाङ विजयी भएपछि शर्माले बधाई आफ्नो साथी तथा भाइको रुपमा सम्बोधन गरेका छन् । एन्फाले युवा नेतृत्व पाएकोमा शर्माले खुसी पनि व्यक्त गरेको छन् । यता शेर्पा हारिसकेपछि भने थापाले कुनै धारणा राखेका छैनन् । निर्वाचनअघि खुलेर शेर्पाको समर्थन गरेका उनले नेम्वाङ जित्दा भने पोष्ट हाल्न भ्याएका छैनन् । एन्फाको नयाँ नेतृत्वका लागि शेर्पालाई नेम्वाङले ६ मतान्तरले पराजित गरेका थिए ।

अहिले एन्फामा नेम्वाङको बहुमत छ । कूल २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाको बहुमत छ । शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जनाले चुनाव जितेका छन् । दुई जना खुल्ला केन्द्रिय सदस्यको भने टुङ्गो लागेको छैन । चार जना मध्य तीन जना शेर्पा प्यानलका नै छन् ।

प्रतिक्रिया