बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार गोठलापानीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै प्रकारका खोप पाइसकेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

सोही अनुरूप जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको उनले बताए । उक्त उमेर समुहका ४ हजार २ सय ६८ बालबालिका छन् । उनीहरूले पाउनुपर्ने सबै प्रकारका खोप लगाइसकेका हुन् ।

०७२ असार ६ गते पहिलोपटक देशकै नवौं पूर्ण खोप जिल्ला घोषणा भएको हो । त्यसपछि प्रत्येक वर्ष खोप सुनिश्चितता घोषणा गरिँदै आएको छ । यहाका स्थानीय तहहरूले खोप सुनिश्चितताका लागि दिगोपना कायमका गर्न स्वास्थ्यका क्षेत्रमा लगानी सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

वडा गाउँ तथा नगरपालिकालाई खोप सुनिश्चितता गर्दै जिल्लालाई नै खोप सुनिश्चित गरिएको हो । स्वास्थ्यको क्षेत्रको अब्बल सूचक मानिँदै आएको पूर्ण खोप सुनिश्चितताले जिल्लाको स्वास्थ्यको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीले जनाए । प्रत्येक पालिकामा स्वास्थ्य कार्यालय बैतडीले यसअघि घरधुरी सर्वेक्षणसमेत गरेको थियो ।

यसैगरी बैतडीमा विद्युत् सबस्टेसन मर्मत कार्यका लागि चार दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । सबस्टेसनमा नयाँ उपकरण जडानका लागि चार दिन लाग्ने र उक्त अवधिमा विद्युत् अवरुद्ध गरिने भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले जानकारी दिए ।

‘दिउँसोको समयमा उपकरण जडानको काम हुने भएकाले सो समयमा विद्युत् सेवा अवरुद्ध हुनेछ’, भट्टले भने रातीको समयमा भने विद्युत् सेवा अवरुद्ध हुने छैन ।’ सबस्टेसनमा बेलाबेलामा खराबी समेत आउने गर्दथ्यो । सबस्टेसन मर्मत भइसकेपछि उक्त समस्या पनि हल हुने वितरण केन्द्र प्रमुख भट्टले बताए ।

यसैगरी जिल्लाको दुई ठाउँमा विद्युत् सबस्टेसनको काम थालिएको छ । मेलौली र पाटनमा सबस्टेसनको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ । पाटनमा बन्न लागेको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई पूर्णरूपमा विद्युतीकरणका लागि यी सबस्टेसनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया