डुग्रीवासीले आठ महिना बितिसक्दा पनि अझै पाएनन् राहत

बझाङ । बाढीपहिरो आएको करिब आठ महिना बितिसक्दा पनि कुनै पनि राहत नपाएको डुग्रीका बाढीपीडितहरूले गुनासो गरेका छन् । सरकारले बाढीपहिरोपीडित घरपरिवारलाई पूर्ण क्षति र आंशिक क्षति भनेर वर्गीकरण गरेको थियो । गत कात्तिक महिनामा बझाङ जिल्लामा आएको बेमौसमी अविरल बाढी पहिरोले बझाङको खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका, सुर्मा गाउँपालिका तथा जयपृथ्वी नगरपालिकालगायत जिल्लाको धेरै स्थानमा क्षति पुर्याएको थियोे ।

बाढीपहिरो गएलगत्तै बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवलोकन गर्न देशका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाको जम्बो टोली हेलिकोप्टरमा अवलोकन गर्न बझाङ आएका थिए । त्यस मध्ये एक सदरमुकाम चैनपुर नजिकै रहेको डुग्री बजारमा बग्ने सानो खोलाले बजारमा पस्दा करोडौँको क्षति भएको थियो । खोला वरपर रहेका करिब २० घरपरिवार विस्थापित भए भने ५० घरपरिवारकोे खेतीयोग्य जमिन बाढीले बगाएको थियो ।

बाढीपहिरोपीडित प्रदीप मलासीले भने, ‘नपत्याउने खोलाले बगाउँछ भनेझैं भयो । मेरो २० नाली धान फल्ने खेतीयोग्ज जमिन बगायो । घर पनि जोखिममा रहेको छ । राहतको नाममा एक सुको पनि पाएको छैन ।’ उनले जिल्ला प्रशासन कार्यालयले प्रशासनले पहुँचका आधारमा पैसा बाढेको आरोप लगाए ।

राहत वितरणमा सरासर पक्षपाती भएको छ राहत नपाउनुपर्नेहरूले राहत पाएका छन् । पाउनुपर्नेहरूले पाएका छैनन् । पीडित परिवारहरू अर्काकै घरमा आश्रय लिएर बसेका छन् । सरकारले पुनःस्थापनमा अहिलेसम्म पीडित कुरा नसुन्नु दुःखदायी भएको स्थानीय नरेन्द्र रोकायाले बताए । स्थानीयहरूलाई बर्खाको समयमा ओहोरदोहोर गर्न काठेपुल निर्माण गरेको मस्टा गाउँपालिका–१ वडा अध्यक्ष रामचन्द्र रोकायाले बताए । उता जिल्ला प्रशासन कार्यालय बझाङले भने राहत ककसले कति विवरण पाए नपाएको आफूलाई एकीन विवरण नभएको बताएका छन् ।

प्रतिक्रिया