बैतडीका ८ स्थानीय तहमा पूर्ण खोप घोषणा

बैतडी । जिल्लाका ८ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

१६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरु पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् । शुक्रबार शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । यो संगै बैतडीमा पूर्ण खोप सुनिश्चित पालिकाको संख्या ८ पुगेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ । बाँकी रहेका दुई पालिकालाई पनि दुई दिनभित्रै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर असार ६ गते बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको र त्यसपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको उनले बताए ।

प्रतिक्रिया