लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, बस्ताकोटी पक्राउ

पोखरा । लोकसेवा आयोगको परीक्षामा पटक–पटक आन्तरिक सेटिङका घटना बाहिरिँदै आएको छ । नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धेरै पटक खुलासा भएको छ । पोखरा–२४ कास्कीकोटका एक जना शिक्षकले पनि लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ ।

कास्कीकोट कालिका माविका उपप्रधानाध्यापक समेत रहेका दीपेन्द्र बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो ।

उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौँ रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौँडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी ट्रयापमा परेका हुन् ।

रेडक्रसले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराउने भन्दै लैजाने गरेको विद्यालयले जनाएको छ । प्रधानध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले विद्यालयबाट सधैँ विद्यार्थी हाजिरीजवाफका लागि भनेर लैजाने गरेको बताए ।

‘हाजिरीजवाफ भनेर लैजानुहुन्थ्यो, कहिले १५ जना हुन्थे, कहिले १० जना हुन्थे, हाजिरीजवाफ भनेपछि संख्यातिर ध्यान दिएनौँ,’ उनले भने, ‘स्थायी विज्ञान शिक्षक, आफै पनि भद्र मान्छे भएकोले त्यस्तो गर्नुहोला भन्ने कल्पना गरेकै थिएनौँ ।’

१९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो, त्यहाँबाट सरुवा भयो भनेर हेटौँडा लग्नुभयो, १९ चैतमा परीक्षा दिएर आएँ,’ उनले भनिन्, ‘हामी उही दिन फर्कियौँ, डेढ घण्टाको परीक्षा दिएको हो, त्यसपछि धेरै पटक परीक्षाको रिजल्ट मागेँ, दिनुभएन, परीक्षाको रिजल्ट सोधेपछि आउनै छोड्नुभयो ।’

बस्ताकोटी अहिले पुर्पक्षका लागि मकवानपुर कारागारमा थुनामा छन् । उनले एउटै सक्कली परीक्षार्थीबाट २० देखि ३० लाखसम्म लिने गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया