पाथामा बिजुली बल्यो

दार्चुला । अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको ६ वर्षपछि सय किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युत्को सफल परीक्षण गरिएको छ । विद्युत्को गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भई लामो प्रयासपछि दुर्गम पाथामा बत्ती बलेपछि स्थानीयवासी खुसी छन् । अहिलेलाई पाथा र घाजिरमा विद्युत् दिइएको विद्युत् निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

अपिहिमाल–३ र ४ का लागि निर्माण सुरु गरिएको बत्ती अन्य बस्तीसम्म पु¥याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुन सकेको छैन । हाइटेन्सन लाइन जडान गरिएको भए पनि शाखा लाइन जडान नहुँदा अन्य बस्तीसम्म विद्युत् पु¥याउन केही समय लाग्ने उनले बताए ।

सडक नपुगेको पाथामा विद्युत् निर्माण गर्न झण्डै सात करोड लागत खर्च भएको छ । यसमा केन्द्रले २ करोड ८५ लाख, गाउँपालिकाले १ करोड ९२ लाख, संघीय सांसदको सांसद विकास कोषमार्फत ५० लाख तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत् निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

विद्युत् पूरै विस्तार भए दुई वडाका ६ सय ६६ घरधुरी लाभान्वित हुनेछन् । शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उनको भनाइ छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता दिएर विद्युत्मा लगानी गरेको थियो । उज्यालो अपिअन्तर्गत अपिहिमाल–२ मा सौर्य विद्युत् जडान गर्ने तयारी छ । यस्तै अपिहिमाल–६ मा सय किलोवाट क्षमताको जलविद्युत् निर्माण कार्य जारी छ । अपिहिमाल–५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत् निर्माणको अन्तिम चरणमा पुर्याएको छ ।

प्रतिक्रिया