धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
सोमबार धनगढीमा भएको निर्वाचनमा समितिको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कलेलले १३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खगराज भुषाल १३ मत प्राप्त गरी विजयी भएका छन् । भुषालका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजेन्द्रप्रसाद खनालले १२ मत प्राप्त गरी पराजित भए ।
स्वतन्त्रबाट निर्वाचित धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गरेका कारण गठबन्धन विजयी भएको हो ।
जिल्लामा सत्तारुढ गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तालमेल रहेको थियो भने नागरिक उन्मुक्ति पार्टी र एमालेबीच छुट्टै तालमेल भएको थियो ।
भ्रष्टाचार मुद्दाका कारण माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएनन् ।
कैलाली
प्रतिक्रिया