नाकामा सड्दै पाँच सय टन युरिया

देशभर मलको चर्को अभाव

काठमाडौं । निर्धारित समयभन्दा झण्डै ४० दिन ढिलो गरी आयात भएको मल एक महिनादेखि तातोपानी नाकामा अलपत्र परेको छ । चीनबाट आयात गरिएको पाँच सय टन (९ हजार ९ सय ७० बोरा) युरिया मल तातोपानीको सुक्खा बन्दरगाहमा अलपत्र परेको हो । लामो समयसम्म बन्दरगाहमा अलपत्र अवस्थामै रहिरहे उक्त मल पानीको चिसोपनाले सड्ने सम्भावना बढेको छ । युरिया मलको माग गर्दै किसानतहदेखि संसद्सम्म बहस भइरहँदा युरिया मल प्रयोगविहीन अवस्थामा अलपत्र परेको हो । आयात भएको यो मल कृषि सामग्री कम्पनीको आधिकारिक बोरामा प्याकेजिङ गरिएको छ ।

चर्को अभाव सिर्जना भएको अवस्थामा ढिलो गरी आइपुगेको मल प्रक्रिया मिलाएर सदुपयोग गर्ने हो वा जफत हुन दिने हो भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ । सरकारी कर्मचारीहरूले नियम मिचेर गए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनभित्र पर्नसक्ने भन्दै यो विषयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मामा छाडेका छन् ।

कृषि सामग्री कम्पनीले निर्धारित समयभित्र मल आयात नगरेकाले उक्त मल आयातकर्ताको ठेक्का रद्द गरिएको जनाएको छ । कम्पनीका कायम मुकायम सञ्चालक राजेन्द्र कार्कीले आपूर्ति गर्ने अवधिभन्दा ढिलो गरी आपूर्ति भएकाले ठेक्का रद्द गरिएको जानकारी दिए ।

‘निर्धारित समयभित्र मल आयात नभएपछि नियमअनुसार हामीले ठेक्का रद्द गरेका छौँ,’ कार्कीले भने, ‘ठेक्का रद्द गरिसकेपछि बल्ल त्यो कम्पनीले अन्तर्राष्ट्रिय मूल्य घटेको मौका छोपी हतारमा मल आयात गरेको हो ।’ कृषि सामग्री कम्पनीले यहि ३ जेठमा निर्णय गरी उक्त ठेक्का रद्द गरिएको जानकारी १० जेठमा आयातकर्ता कम्पनीलाई दिएको छ ।

कृषि सामग्री कम्पनीले टेन्डर आह्वान गर्दा सिल्क, सिनोम्याक, ग्लोबल म्याटिक्स र विद्य जेभी संयुक्त रूपमा २५ हजार टन युरिया मल आयात गर्ने भनेर ०७८ मंसिर ८ मा ठेक्का कबोल गरेको थियो । यो संयुक्त कम्पनीले १ करोड ६५ लाख २५ हजार अमेरिकी डलरमा २५ हजार टन युरिया मल ०७८ चैत १५ गते कृषि सामग्रीलाई उपलब्ध गराउने सम्झौता गरेको थियो ।

ठेक्का कबोल गरेको यो संयुक्त कम्पनीले २५ वैशाखमा कबोल परिमाणमध्ये पाँच सय टन युरिया तातोपानी नाकामा भित्र्याएको थियो । आपूर्तिकर्ता संयुक्त कम्पनीले बाँकी रहेको मलको परिमाणमध्ये असारभित्र १० हजार र साउनभित्र १० हजार टन उपलब्ध गराउने जानकारी गराएको छ ।

आपूर्तिकर्ता कम्पनीका एक अधिकारीकाअनुसार चीनस्थित छिङ्हाई युन्थियानहन इन्टरनेसनल कम्पनीसँग मल आयातको लागि सम्झौता भएको थियो । ‘हामीले नियतवस मल ढिलो आयात गरेका होइनौँ’, ती अधिकारीले भने, ‘चीनबाट आयात गर्ने प्रक्रिया सुरु गरेलगत्तै चिनियाँ सीमा क्षेत्रमा विभिन्न प्रकारको नीति तथा अवरोध, रसुवागढी र तातोपानी सीमा नाकामा दैनिक कोटा सिस्टम लगायतका प्राविधिक समस्याले मल ल्याउन ढिलाइ भएको हो ।’

गत नोभेम्बरको पहिलो साता चीन सरकारले रासायनिक मल निर्यात बन्द गर्ने निर्णय गरेको जानकारी दिँदै उनले भने, ‘चिनियाँ नीतिले करिब चार महिनासम्म उक्त मुलुकबाट मल निर्यातको बाटो नै थुनियो । यसका लागि हामी परराष्ट्र मन्त्रालयसहित चीनस्थित नेपाली दूतावाससम्म धाएका थियौँ ।’

निर्यातको बाटो फुकुवा भएपछि बल्ल सबै प्रक्रिया मिलाएर कबोल गरेको परिमाणमध्ये पाँच हजार टन युरिया मल तातोपानी भन्सारमा ल्याइएको ती अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार आइपुगेको मलको गुणस्तर तथा परिमाण परीक्षणका लागि पटकपटक कृषि सामग्री कम्पनीलाई ताकेदा गर्दा पनि कसैले चासो नदिएको जानकारी दिए ।

‘हामीले म्याद गुजारेर भए पनि केही परिमाणमा ल्याउन सफल भएका छौँ, कम्तिमा त्यो मलको गुणस्तर र परिमाण परीक्षण गरेर आवश्यक बाटो फुकाइदिनुपथ्र्यो । यसका लागि हामीले पटकपटक आग्रह ग¥यौँ तर, कसैले चासो देखाउन तयार हुनुभएन । यसले गर्दा भन्सार कार्यालयमै उक्त मल थन्किएको छ’, उनले भने ।
आइपुगेको मलको गुणस्तर र परिमाण परीक्षणका लागि पनि कृषि सामग्री कम्पनीका अधिकारीहरूले आनाकानी गर्दै आएका छन् । कृषि सामग्री कम्पनीका एक अधिकारीका अनुसार आपूर्तिकर्ता कम्पनीले मल आयात गरिसकेपछि आपूर्तिकर्ता कम्पनीको आग्रहमा कृषि सामग्री कम्पनीले सर्वेयर खटाउनुपर्ने व्यवस्था छ ।

यस्तो सर्वेयरले आयात भएको मलको नमुना लिएर गुणस्तर परीक्षण गर्नुका साथै मलको बोरामा परिमाण ठिक छ वा छैन भनेर परीक्षण गरी प्रतिवेदन दिएको आधारमा आपूर्तिकर्ताले उक्त मल कृषि सामग्री कम्पनीलाई जिम्मा लगाउने व्यवस्था छ ।

यसै पनि भूकम्प गएको समयदेखि तातोपानी र रसुवागढी नाकाबाट सामान आयात गर्न निकै असहज छ । व्यापारीहरूले जाडोमा अर्डर गरेको लुगाफाटासहित अन्य सामान बल्ल ६ महिनापछि उक्त नाकामार्फत नेपाल भित्राउँदै आएका छन् । नाका सहज बनाउन दर्जनौँपटक चिनियाँ दुतावासलाई सरकारले समेत ध्यानाकर्षण गराउँदा पनि हालसम्म समस्या समाधान भएको छैन ।

मल यथाशीघ्र लैजाऊ : भन्सार कार्यालय

सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी भन्सार कार्यालयले भन्सारमा थन्किएको उक्त मल तत्कालै छुटाएर लैजान सरोकारवाला निकायलाई पत्राचार गरेको छ । भन्सार कार्यालयका प्रमुख नारद गौतमले मलको लागि हाहाकार भइरहेको अवस्थामा पछिल्लो एक महिनादेखि जाँचपास बेगर युरिया मल सुक्खाबन्दरगाहमा अलपत्र पारिएको जानकारी दिए ।

‘२५ वैशाखमा उक्त मल आइपुगेको थियो, तर मलको खोजखबर गर्न हालसम्म कोही आएका छैनन्’, गौतमले भने, ‘आइसकेको मल प्रक्रिया पु¥याएर किसानलाई उपलब्ध गराइए थोरै भए पनि राहत हुन्थ्यो ।’

उनका अनुसार उक्त मल शून्य भन्सार शुल्कमा आइपुगेको हो । लामो समयसम्म पनि उक्त मलको बारेमा कसैले खोजखबर गर्न नआएपछि बुधबार मात्रै भन्सार कार्यालय तातोपानीले उक्त मल छुटाएर लैजानको लागि सहजीकरण गरिदिन कृषि सामग्री कम्पनीलाई पत्राचार गरेको छ ।

भन्सार कार्यालयले मलको देशभर अभाव हुनुको साथै किसानबाट उच्च माग भइरहेको अवस्थामा विभिन्न समूहबाट उक्त मल उपलब्ध गराइदिन ‘दबाब’ आइरहेको पत्राचारमा उल्लेख गरेको छ ।
दबाबका कारण लामो समयसम्म गोदाममा राख्न नसकिने भन्दै भन्सार कार्यालयले यथाशीघ्र उक्त मल छुटाई लैजानको लागि आवश्यक सहजीकरण गरिदिन कृषि सामग्री कम्पनीलाई पत्राचार गरेको हो । भन्सारले उक्त पत्रको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा आयातकर्ता कम्पनीलाई दिएको छ ।

गौतमले मल जाँचपास गरी १५ मिनेटमै आयातकर्ताले लग्नसक्ने जानकारी दिए । उनका अनुसार सामान आइपुगेको ६० दिनभित्र पनि जाँचपास नभए फेरि सातदिने सूचना जारी हुन्छ । त्यसपछि पनि बुझ्न नआए त्यस्ता सामान जफत हुने व्यवस्था छ ।

ठेक्का रद्द निर्णय कार्यान्वयन नगर : अदालत

ढिलो गरी मल आयात गरेको सिल्क, सिनोम्याक, ग्लोबल म्याटिक्स र विद्य जेभीको संयुक्त कम्पनीले विभिन्न प्राविधिक समस्याका कारण ढिलो गरी पाँच हजार टन मल आयात गरेको जानकारी कृषि सामग्री कम्पनीलाई गराएको छ ।

आइसकेको मललाई आवश्यक प्रक्रिया पूरा गरी गुणस्तर र परिमाण परीक्षण गरी मार्ग प्रशस्त गरिदिन कृषि सामग्री कम्पनीलाई पटकपटक पत्राचार गरिए पनि कृषि सामग्री कम्पनीले ठेक्का नै रद्द गरिदिएको भन्दै उच्च अदालत पाटनमा १९ जेठमा अन्तरिम आदेश माग्दै आपूर्तिकर्ता कम्पनीले मुद्दा दायर गरेका थिए ।

ठेक्केदार कम्पनी मर्का परेको भन्दै उक्त मुद्दाको सुनुवाई गर्दै उच्च अदालत पाटनले ठेक्का रद्द गर्ने सरकारले गरेको निर्णय कार्यान्वयनमा नल्याउनु र मलको लागि हाहाकार भइरहेको अवस्थामा आइपुगेको मलका साथै ल्याउन बाँकी रहेको थप परिमाणको मल आयात गर्नसमेत सहजीकरण गरिदिन बिपक्षी (कृषि सामाग्री कम्पनी) को नाममा आदेश जारी गरेको छ ।

हामीलाई फसाइयो : कृषि सामग्री

तातोपानी नाकामा आएर एक महिनादेखि थन्किएको मल प्रकरणमा आपूmहरूलाई फसाइएको कृषि सामग्री कम्पनीले बताएको छ । कम्पनीका एक उच्च अधिकारीले अदालतको आदेश पालना गर्दा कृषि सामग्री कम्पनी नीतिगत समस्यामा फस्न सक्ने जानकारी दिए ।

प्रतिटन ६ सय ४८ अमेरिकी डलरमा स्वीकार गरेको आयातकर्ता कम्पनीले अहिले ९ सय ८० प्रतिटन मूल्य पर्ने मल निर्धारित समय सकाएर मल उपलब्ध गराएको ती अधिकारीले दाबी गरे । ‘सम्मानित अदालतले सामान बुभ्mनु र बाँकी सामान ल्याउन पनि सहजीकरण गरिदिनु भनेर मात्रै आदेश दिएको छ । हामीले सम्मानित अदालतको आदेशलाई मान्नैपर्छ’, ती अधिकारीले भने, ‘तर यो आदेशले हामीलाई नमज्जाले फसाउन सक्छ । अदालतले मूल्यको विषयमा, भुक्तानी कसरी गर्ने, आउन बाँकी रहेको मल आउने ग्यारेन्टी के हुने लगायतका विषयमा केही बोलेको छैन ।’

उनकाअनुसार कृषि सामग्री कम्पनीलाई चारैतर्फबाट घेराबन्दी गरी डुबाउन खोजिएको जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले यो प्रकरणमा कृषि सामग्र्री कम्पनीले गर्ने निर्णय नै मान्य हुने जानकारी दिए । यो प्रकरणमा मन्त्रालय केही पनि गर्न नसक्ने उनले बताए ।

गैरजिम्मेवार प्रवक्ता : तपाईंलाई जानकारी किन दिने ?

कृषि सामग्री कम्पनीका प्रवक्ता पूण्यप्रसाद उपाध्यायले तातोपानी नाकामा मल आएर अलपत्र परेको विषयको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

विषयबस्तु बुझाउँदा पनि उनले गैरजिम्मेवारी रूपमा प्रस्तुत हुँदै भने, ‘तपार्इं आयातकर्ता कम्पनीको एजेन्ट हो र सबै जानकारी दिनलाई । तपाईंलाई किन जानकारी दिने । पत्रकार आफ्नो सीमाभित्र बस्नुपर्छ । कसले ल्यायो, कति ल्यायो, कहिले ल्यायो, किन ल्याएन, हामी के गर्छौं ? यो सबै विषयमा तपाईंलाई किन जानकारी दिनुपर्यो ?’

निकैपछि मात्र प्रवक्ता उपाध्यायले उक्त मलको विषयमा कृषि सामग्री कम्पनीभन्दा पनि मन्त्रालयले गर्ने निर्णयको आधारमा अघि बढ्नसक्ने जानकारी दिए ।

प्रतिक्रिया