
कालिकोट । ‘पाइप चिरा–चिरा परेको छ, हामी स्थानीयले त्यही पाइपलाई टालटुल गर्दै ४–५ दिनको एक दिन खानेपानी धारामा पुग्छ,’ पचालझरना गाउँपालिका– ५ का मनप्रसाद आचार्यले भावुक हुँदै सुनाए । मनप्रसाद भन्छन्, ‘लाईन बस्दै गर्दा पुनः पाईप चुहिन्छ, टाल्ने चुहिने क्रम चलिरहन्छ, एक घण्टाको पैदल यात्रा गरेर बाउबाजेको पालामा पानी खाने ठाउँमा गएर पानी लिएर आउछौँ ।’
यो पीडा मनप्रसादको मात्र हैन, पचालझरना गाउँपालिका–५ स्थित ब्रामण टोल र शाहीका टोलका ६७ घरधुरीको हो । वडा नं. ५ का रत्नलाल आचार्यका अनुसार धान रोपाई गर्ने, विभिन्न किसिमको सिँचाई गर्ने सोच मनमा भए पनि सपना देखे जस्तो हुन्छ ।
‘आकाशे पानीको भरमा मकै लगायतका अन्य खेति वालीहरु लगाउछौँ, आफ्नै वडाका अन्यटोलमा असारे रोपाई सुरु हुन्छन्, तर ब्रामण टोल र शाही टोलका ६७ घरधुरीमा भने रोपाई गर्ने अवसर कहिल्यै पाएनौँ’, रत्नलालले भने । पशुचौपायालाई दिने पानी ,शारिरिक सरफाईलगायत सिँचाईका क्षेत्रमा ठूलो समस्या र चुनौती रहेको नागरिकहरुको भनाइ छ ।
२०६५ सालमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फन्ड बोर्ड) को आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सामाजिक परिचालनमा ब्रामण टोल र शाही टोलमा ८ वटा धाराहरु बनेका थिए ।
२०६५ साल यता कुनै पनि सरोकारवाला निकायहरुको ध्यान नपुगेको नागरिकहरुले गुनासो गरेका छन् । २०७४ सालको चुनावमा खानेपानी, सडक, विद्युत, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने भन्दै प्रतिबद्धता गरेका जनप्रतिनीधिहरुले हालसम्म ब्रामण टोल र शाही टोलमा बनेका कुनैधारा मर्मतको लागि पनि सहयोग नगरेको स्थानीयको गुनासो छ ।
(फन्ड) बोर्डको ६ लाख २४ हजार ५ सय ९० रुपैया ३ पैसा र स्थानीय जनश्रमदान ३ लाख २७ हजार ३ सय ६ रुपैयाँ ४ पैसा गरी जम्मा ९ लाख ५१ हजार ८ सय ९६ रुपैयाँ ७ पैसामा ८ वटा धारा निर्माण थिए । धारा निर्माणपश्चात कुनै पनि सरोकारवालाहरुले ध्यान नदिएर हालसम्म स्थानीयले नै पाइपहरु टालटुल गदै खानेपानीको जोहो गरिरहेको नागरिकहरुको भनाइ छ ।
२०६५ सालमा बनेका ८ वटा धाराहरुमध्ये १ धारो विद्यालयलाई दिएको छ भने ७ वटा धाराहरु ब्रामण टोल र शाही टोलमा छन् । टोलबाट करिव २ किलोमिटर टाढा मुहानबाट पानी ल्याइएको छ । २०६५ सालमा राखिएका पाइपलाईनहरु बाढीपहिरोका कारण क्षेतविच्छेद भए पनि नागरिकहरुले टालटुल गर्दै पानी ४–५ दिनको १ दिन पानी खाइरहेका छन् ।

कालिकाेट
प्रतिक्रिया