रुकुमपूर्व । रुकुमपूर्वमा जिल्ला अदालतले महिलाको हत्या आरोपमा पक्राउ परेका नवनिर्वाचित वडाध्यक्षसहित तीन जनालाई मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिंह बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो ।
हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगंगा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
निजहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो । वडाध्यक्षमा विजयी भएका कुमारसिं बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै थिए । निर्वाचन प्रचारका क्रममा अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जंगलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएर परीक्षण गरिएको थियो । जेल चलान भएका कुमारसिंह बुढा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया